मौलाकालिकामा अब एनआईसीयु र पीआईसीयु सेवा

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १६ : ४१
मौलाकालिकामा अब एनआईसीयु र पीआईसीयु सेवा

चितवन । भरतपुरमा रहेको मौलाकालिका अस्पतालमा नवजात शिशुका लागि एनआईसीयु र बालबालिकाका लागि पीआईसीयु सेवा आइतबारदेखि सुरु भएको छ ।

श्रीपञ्चमीको अवसर पारी अस्पतालले पाँच बेडको एनआईसीयु र तीन बेडको पिआईसीयु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले जानकारी दिए । एनआईसीयुमा दुई वटा भेन्टिलेटर छन् । सेवा सञ्चालनका लागि तीन जना विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अफिसर र ८ जना तालिम प्राप्त नर्सहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष मानन्धरले बताए ।

एनआईसीयु र पिआईसीयुका सञ्चालनका लागि डेढ करोड खर्च भएको छ । अस्पतालमा मासिक ६० देखि ७० जनासम्मले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालमा जन्मने नवजात शिशुहरुका लागि एनआईसीयु सेवा नहुँदा समस्या भएकोले सेवा सुरु गरिएको अस्पतालका बालरोग विभागका प्रमुख डा. विश्ववन्धु बगालेले जानकारी दिए ।

आवश्यकता अनुसार सेवालाई १० बेडसम्म पु¥याउने योजना रहेको डा. बगालेले जानकारी दिए । ‘अस्पतालमा जन्मने नवजात शिशु र बेड खाली हुँदासम्म अन्यत्रबाट पनि नवजात शिशुको प्रभावकारी उपचारलाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याएका हौं’ उनले भने, ‘उपचारलाई विशिष्टिकरण गर्ने योजना अन्तर्गत मौलाकालिकाले एनआईसीयु र पिआईसीयु सेवा सुरु गरेको हो ।’

 

प्रतिक्रिया दिनुहोस