प्रविधिको प्रयोगले मात्रै कृषिमा क्रान्ति सम्भव छ: मन्त्री लामा

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, १७ : ५५
प्रविधिको प्रयोगले मात्रै कृषिमा क्रान्ति सम्भव छ: मन्त्री लामा

चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रविधिको प्रयोगले मात्रै कृषिमा क्रान्ति सम्भव रहेको बताउनुभएको छ ।
‘चितवनको समृद्धि  सूचना र प्रविधि’ भन्ने नारासाथ शुक्रबार चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा आयोजित प्रभू पे चौथो क्यान इन्फोटेक मेलाको उद्धघाटन गर्दै मन्त्री लामाले यस्तो बताउनु भएको हो ।
“प्रविधिको प्रयोगले मात्रै कृषिमा क्रान्ति सम्भव छ” उहाँले भन्नुभयो,“अब प्रविधिको प्रयोग गरी सामूहिक खेती गर्ने प्रणालीको विकास गर्नु पर्छ ।”
मन्त्री लामाले कृषि प्रदान देश नेपाललाई प्रविधिमार्फत अधुनिकिकरण गरी कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । सबै भन्दा बढि प्रविधिको प्रयोग कृषि क्षेत्रमा आवश्यक रहेको उहाँको भनाई छ ।
 प्रविधि र उपकरणमार्फत सामूहिक व्यवसायीक खेती गर्न प्रदेश नम्बर ३ को सरकारले सिन्धुलीमा एक सय २१ बिघा जग्गामा काम अगाडि बढाई रहेको जानकारी दिनुभयो  ।
त्यस्तै कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले प्रविधिको ज्ञान लिई यसको प्रयोग गरेर फाईदा लिनुपर्ने बताउनुभयो । प्रविधिको जति प्रयोग गर्न जान्यो त्यतीनै फाईदा पुग्ने उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासले मात्र देशमा समृद्धि आउने र यस क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य रहने बताउनुभयो ।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले उद्योगी तथा व्यवसायीले प्रविधिको उचित प्रयोग गर्न सके व्यापार घाटा कम भएर जाने उल्लेख गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरीे व्यवसायबाट बढी भन्दा बढी मुनाफा लिनु पर्ने बताउनुभयो ।
अक्सफोर्ड कलेज गैंडकोटका प्रचार्य हरि भण्डारीले प्रविधिको प्रयोग विना राष्ट्रको समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । हरेक कुरामा स्मार्टपन ल्याउन प्रविधि अनिवार्य उहाँको भनाई छ । डिजिटल कृषि प्रणालिको विकास गरी कृषि क्षेत्रमा चमत्कार गर्नु पर्ने उहाको जोड थियो । बिदेशी मुलुकहरुले डिजिटल अर्गानिक फुडको समेत विकास गरी एक ट्याब्लेट खाएपछि दिनभरीको भोक मर्ने प्रविधिको विकास गरीसकेको भन्दै उहाँले प्रविधिको प्रयोगमा नयाँ चमत्कार गर्नु पर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ प्रदेश ५का अध्यक्ष सुदिप शर्मा, कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका केन्द्रीय उपाध्यक्ष नवराज कँवर लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा क्यान चितवनका अध्यक्ष भानु शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

आज शुक्रबारदेखि शुरु भएको मेला माघ २९ गतेसम्म चल्ने छ । मेलाको पूर्व सन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम,आइडिया हन्ट लगाएतका कार्यक्रमहरु भईसकेको क्यान चितवनका उपाध्यक्ष विष्णु लामिछानेले जानकारी दिनुभयो । नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आइडिया हन्ट कार्यक्रम पनि आयोजना भएको बताईएको छ ।
मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० वटा स्टल रहेको मेला मूल समितिका संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।
क्यान चितवनका कोषाध्यक्ष दिलिप कुमार तमाङले प्रविधि सम्बन्धी मेलामा प्रविधिकै प्रयोग गरप् मेलालाई भव्य र सफल पारिने बताउनु भयो । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण र प्रयोग भएको छ । मेलामा रु ८० लाखको कारोबार गर्ने लक्ष्य राखिएको तामाङले बताउनु भयो ।
मेलामा आइटीसम्बन्धी अन्तरक्रिया हुनका साथै डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी, वेबसाइट निर्माण, केलजस्तरीय हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता हुने सचिव सन्तोष भुषालले जानकारी दिनुभयो । अन्तरविद्यालय नृत्य, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा हुनेछ । मेला प्रवेश गर्न  रु ५० र विद्यार्थीलाई रु २५ लाग्ने छ । करिब डेढ लाख जनाले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस