सन्दर्भ : विश्व क्यान्सर दिवस

के हो स्तन क्यान्सर ? आफ्नो स्तनको आफैले परीक्षण गरौं

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, १४ : ०८
के हो स्तन क्यान्सर ? आफ्नो स्तनको आफैले परीक्षण गरौं

चितवन । स्तनमा भएका कोष–कोषिकाहरुमा असामान्य परिवर्तन आई तिनीहरुको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठा–गुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । हाम्रो देशमा यो रोगबाट थुप्रै महिलाहरु प्रभावित हुने भएकोले स्तन क्यान्सर एक स्वास्थ समस्याको रुपमा देखिएको छ । यो रोग प्रायः महिलाहरुलाई लागे पनि पुरुषहरु पनि यस रोगबाट प्रभावित हुने गरेका छन् । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाहरुको मृत्युको कारण भएको छ ।

निम्न अवस्थाहरुमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । 
१) आमा, दिदीबहिनी, छोरी वा नजिकका नातेदार हरुमा स्तन क्यान्सर भएमा ।
२) ३० वर्षपछि बच्चा पहिलो जन्माउने महिलाहरुमा ।
३) बच्चा नजन्मएका महिलाहरुमा । 
४) स्तनपान नगराउने महिलाहरुमा । 
५) स्तनमा पहिलेदेखि नै गाँठा–गुँठी वा पुराना समस्याहरु आएमा ।
६) पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरुको अर्काे स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

स्तन क्यान्सरमा देखिने चिन्ह र लक्षणहरु :
१) स्तनमा गिर्खा फेला पर्नु ।
२) स्तनको आकारमा परिवर्तन आउनु । 
३) स्तनबाट रगत वा पीप मिसिएको दूध बग्नु ।
४) स्तनको छालाको रंगमा परिवर्तन हुनु ।
५) स्तनको मुन्टो गाडिनु । 
६) स्तनमा लामो समयसम्म निको नहुने घाउ हनु । 

स्तन क्यान्सर सुरुको अवस्था पत्ता लगाउने तरिका :
स्तन क्यान्सर सुरुकै अवस्थामा निदान गरी आवश्यक उपचार गरेमा पूर्णयता निको हुने सम्भावना बढी हुन्छ । 

रोग सुरुकै अवस्थामा पत्ता लगाई निदान गर्ने उपायहरु :
१) नियमित स्वास्थ्य परीक्षण :
स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिमप्राप्त स्वस्थ्यकर्मीहरुबाट स्तनको नियमित परीक्षण गराउनु पर्दछ ।

२) आफ्नो स्तनको आफैले परीक्षण विधि :
यसमा महिलाहरुले महिनावारी भएको ७ दिनपछि प्रत्येक महिना आफ्नो स्तन आफैले राम्ररी हेरेर तथा छामेर स्तनमा भएको गिर्खा वा कुनै परिवर्तन आफैले  थाहा पाउन सक्दछन् । नियमितरुपले यस प्रकारको स्तन परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सहयोग मिल्दछ । दाहिने स्तनको परीक्षण देब्रे हात र देब्रे स्तनको परीक्षण दाहिने हातले गर्नुपर्दछ । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिन्छ । स्तनको आकार र छालमा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी स्तनको परीक्षण गर्नु उपयुक्त हुन्छ । स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भाग र काखीमुनि कुनै गिर्खाहरु भए नभएको छामी हेर्नु पर्दछ । यसका साथै आफ्नो स्तनको स्वरुप र रंगमा कुनै परिवर्तन आए नआएको ख्याल गर्नु पर्दछ । यी परीक्षण गर्दा फेला परेका गिर्खाहरु चिकित्सकद्वारा परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउनु पर्दछ ।

३) म्यामोग्राफी परीक्षण :
यो प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण विधि हो । 

स्तन क्यान्सरको निदान :
१) एफ.एन.ए.सी.
२) हिस्टोप्याथोलोजी

स्तन क्यान्सरको उपचार विधि :
१) शल्यक्रिया
२) रेडियोथेरापी
३) केमोथेरापी/हर्माेन थेरापी 
४) प्यालिटिभ केयर

स्तन क्यान्सरको रोकथाम :
महिलाहरुले आफ्नो स्तनको आफै परीक्षण गरी वा स्तन क्यान्सरको लक्षण फेला परेमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र वा सम्बन्धित अस्पतालमा जचाँउनु पर्दछ । यसका साथै स्तन क्यान्सर रोकथामका उपायहरु यसप्रकार छन् :
१) बोसोयुक्त खानेकुराहरु नखाने । 
२) सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
३) मोटोपन घटाउने ।
४) बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने ।

प्रतिक्रिया दिनुहोस