ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी

बुधबार, ०९ माघ २०७५, १७ : १९
ग्यास पाइपलाइन विस्फोटबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो

मेक्सिको सिटी  । ग्यास पाइप विस्फोटबाट मेक्सिकोमा मृत्यु हुनेहरुको संख्या मङ्गलबारसम्म ९३ पुगेको छ ।मेक्सिकोको हिडाल्गो राज्यमा गत शनिबार भएको विस्फोटमा परी उनीहरुको मृत्यु भएको स्वास्थ्यमन्त्री जर्ज अल्कोसरले जानकारी दिनुभयो । 

पाइप विस्फोटनका कारण जलेर सख्त घाइते भएकामध्ये मृत्यु हुनेहरुको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । राष्ट्रपति अन्ड्रेस म्यानुअल लोपेज अब्राडोरसमेत सहभागी भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री अल्कोसरले अरु ४६ जना अझै पनि अस्पतालमै रहेको जानकारी दिनुभयो । 

उहाँले अस्पतालमा उपचार भइरहेकामध्ये थप एक जनाको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । 

तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ । 

अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस