राँझा । गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् ।
घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । गिरीलाई आज बिहान करीब ११ बजे बर्दियाको मधुवन नगरपालिका–३ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको बताइएको छ । गिरीको बायाँ खुट्टामा गोली लागेको छ । हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई गए राति सुर्खेतको पलाँटे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै रु डेढ लाख लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो । सो विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई धारिलो हतियार गरी घाँटी रेटेर बीभत्स तरिकाले हत्या भएको अनुसन्धानबाट खुलेको छ । गत पुस २६ गते प्रहरी परीक्षामा सहभागी हुनआएका सुर्खेत सिम्ता गाउँपालिकाका दीपक सिंहको कोहलपुरमा घाँटी रेटेर हत्या भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस