विद्युतमा बेथिति : भाग ५

विद्युत प्राधिकरण भरतपुर : सिस्टममा कहिले हिँड्ने ?

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०७५, ०८ : ०८
विद्युत प्राधिकरण भरतपुर : सिस्टममा कहिले हिँड्ने ?

चितवन । सेवाप्रदायक कम्पनी भएपछि सेवालाई चुस्त बनाउने उसको पहिलो कर्तव्य हुन्छ । सेवालाई प्रभाकारी रुपमा लैजान आफै सिस्टममा बस्नु पर्ने हुन्छ । सेवा पनि दिने र नियमन पनि गर्ने उसको दैनिकी बन्न सक्यो भनेमात्र राम्रो मानिन्छ । तर, नेपाल विद्युत प्राधिकरण भरतपुर शाखा (वितरण केन्द्र) सिस्टममा हिँड्न सकेको छैन ।
विद्युत प्राधिकरण भरतपुर शाखामा कार्यरत कर्मचारीका अनुसार अहिलेसम्म तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट राख्न सकिएको छैन । बक्यौताको सूची तयार गर्दा बक्यौता तिर्न बाँकी रहेको र नरहेको एकै ठाँउमा आउँछ । उनीहरु बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको सूची तयार पार्न २–४ दिनकै समय माग्छन् । सूची तयार पारेपछि पनि त्रुटि छ भन्दै दिन मान्दैनन् । यसमा उनीहरुको अक्षमता प्रष्ट देखिन्छ ।
विद्युत प्रधिकरण भरतपुर शाखाले बक्यौता उठाउन त के बक्यौता तिर्न बाँकी रहेका ग्राहकको सही सूची तयार पार्न समेत सकेको छैन । तयार पारेका केही ग्राहकको सूची पनि ‘हाकिम साबको स्वीकृति लिनु पर्छ’ भन्दै कार्यालय प्रमुख महतोको इसरामा पत्रकारलाई दिँदैनन् । बक्यौताको सूची माग्न गएका एक पत्रकारलाई लेखा अधिकृत विष्णुबहादुर राजथलाले जबरजस्ती सूची माग्दा आफूलाई रिस उठेको बताए । उनले एक पत्रकारलाई भने, “यस्तै ढिपी गर्नुहुन्छ, त्यसैले तपाईलाई सूची दिन मन लाग्दैन ।”
उनले सरकारी कार्यालय र केही उद्योगको बक्यौताको सूची दिएपनि साधारण ग्राहकको बक्यौताको सूची तयार पार्न समय नभएको प्रतिक्रिया दिए । उनले ‘कार्यालयको काम गर्दागर्दै फूर्सद छैन, तपाईहरुले बक्यौताको समाचार सम्प्रेषण गर्दा गलत सन्देश जान्छ’ भन्दै सूची लुकाउने गरेका छन् । उनी यस कार्यालयका दोस्रो तहका व्यक्ति हुन् । तर उनलाई कार्यालय प्रमुखबाटै सूचना लुकाउन निर्देशन छ । उनी पटकपटक ‘हाकिम साबले के भन्नु हुन्छ कुन्नि ?’ भन्दै लामो स्वास फेर्छन् । कार्यालय प्रमुख अन्य सरकारी कार्यालयका हाकिमहरुसँग सुमधुर सम्बन्ध राख्नकै लागि बक्यौता नउठाई बसिरहेका छन् । यस्तो बेथिति कहिलेसम्म सुरेशकुमार महतोज्यू ?

यो पनि पढ्नुहोस्,
विद्युत प्राधिकरण भरतपुर : यी हुन् बक्यौता नतिर्ने चितवनका टप चौध ग्राहक
विद्युत प्राधिकरण भरतपुर : बक्यौताको तथ्याङ्क बाहिर ल्याउन चाहँदैन
विद्युत प्राधिकरण भरतपुर : किन कार्यकारी निर्देशकको निर्देशनलाई अटेर गर्छ ?
विद्युत प्राधिकरण भरतपुर : सरकारी कार्यालयको लाईन ‘झ्याप्प’ काट्न मिल्दैन

 

प्रतिक्रिया दिनुहोस