चितवन राष्ट्रको केन्द्र बन्न सक्छ, बन्नु पर्छ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०७५, १६ : ११
चितवन राष्ट्रको केन्द्र बन्न सक्छ, बन्नु पर्छ : अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्ला सिंगै राष्ट्रको केन्द्र बन्न सक्ने बताउनु भएको छ । नारायणगढमा बुधबार आयोजित १२ औं चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘चितवन सिंगै राष्ट्रको केन्द्र बन्न सक्छ, बन्नु पर्छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवन जिल्लाको विकास राष्ट्रको विकाससँग सम्बन्धित छ । चितवनमा निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्य सिंगो राष्ट्रको सहकार्यसँग सम्बन्धित छ । चितवनको एकता सिंगो देशको एकतासँग जोडिएको छ । अब विकास र समृद्धिको यात्रामा देशलाई डो¥याउन निजी र सार्वजनिक क्षेत्रको सहकार्य आवश्यक छ ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनमा बाटो बनाउन, पर्यटनको विकास गन, पाँच वर्षभित्र सबै बाटो पिच गरिसक्न, रोजगारी सृष्टि गर्न, मेडिकल सिटी बनाउन केन्द्र सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले काम गर्नु पर्ने बताउनु भयो । निजी क्षेत्रलाई उत्साहित नपारेसम्म समृद्धिको सपना पूरा हुन नसक्ने बताउँदै उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको आवश्यकतामाथि जोड दिनुभयो ।


‘राजनीतिक द्वन्द्व र भ्रमको समापन भएको छ । राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको स्थापना भएको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ भनेपछि शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरेपछि विकासको मोडेलबारे समस्या बाँकी छैन । मिलेर विकासका लागि काम गर्दा समस्या आउँदैन । निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनु पर्छ ।’
चितवनलाई एकीकृतरुपमा छिटोभन्दा छिटो कसरी विकास गर्ने ? कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनको क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने विषय समेटेर समग्र चितवनको विकासका लागि गुरुयोजना आवश्यक रहेको उहाँको धारणा थियो । चितवन जिल्लालाई भौगोलिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले सिंगो राष्ट्रलाई दिशानिर्देश गर्न सक्ने हैसियत भएको जिल्ला बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनले एकतावद्ध भएर विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।


‘कृषि, शिक्षा, स्वास्थ्यमा गुणात्मक ढंगले विकास गर्न सकिन्छ । अझै अगाडि बढ्न सम्भव छ’ उहाँले भन्नुभयो, ‘कृषिमा विश्वकै अब्बल देश इजरायल चितवनलाई कृषि क्षेत्रमा सहयोग गर्न तयार छ । प्रचण्डको बारेमा विश्वलाई विभिन्न कोणबाट जानकारी छ । चितवनको विकासमा विश्वका विभिन्न देशको सहयोग लिने अवसर छ हामीसँग । हामीलाई इतिहासले, भूगोलले चितवन जिल्लालाई विकसित बनाउन अग्रणी भूमिका दिएको छ । त्यो भूमिकामा तपाईं हामी छौं । राष्ट्रको निम्ति योगदान गरौं ।’
चीनका नेता तेङ स्यायो पिङले ‘बिरालोको मुख्य काम मुसा मार्ने हो, बिरालो कालो होस् वा सेतो केही फरक पर्दैन’ भनेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विकासको सन्दर्भमा भनिएको यो भनाइको अर्थ विकास हुनु प¥यो, जसले गरेपनि हुन्छ भन्ने हो । विकास निजी क्षेत्रले गरेपनि हुन्छ, सार्वजनिक क्षेत्रले गरेपनि हुन्छ । हामीलाई पनि बिरालो सेतो होस् वा कालो केही मतलब छैन । हुनु प¥यो विकास । देशको लागि हामी सबैले ठूलो जिम्मेवारी लिनु छ । अब दश वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ ।’
अधयक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चितवन महोत्सवको उद्घाटन समारोहमा आउन नसक्नुको कारण बताउँदै भन्नुभयो, ‘प्रधानमन्त्रीजीलाई चितवन महोत्सवको प्रमुख अतिथिको रुपमा ल्याउन चाहेको थिएँ । उहाँ निर्वाचनपछि चितवन आउनु भएको पनि छैन । मैले प्रधानमन्त्रीजीले सुरुमा स्वीकार पनि गर्नुभएको थियो । अन्य कार्यक्रमको चापले गर्दा आउन सक्नु भएन । स्वास्थ्यका कारणले नआउनु भएको होइन । दुई वटा अध्यक्ष किन जानु प¥यो ? तपाईं नै जानुहोस् भनेर मलाई नै अघि सार्नुभयो । उहाँले मेरोतर्फबाट पनि सफलताको शुभकामना सुनाइदिनु होस् भन्नु भएको छ ।’
चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले चितवनको आर्थिक विकासमा चितवन महोत्सव सहयोगी हुने बताउँदै अब चितवनको विकासको सम्भावनालाई कसैले रोक्न नसक्ने बताउनु भयो । प्रदेश नम्बर ३ का वन तथा वातावरण मन्त्री अरुण नेपालले चितवन महोत्सव अन्य मेला महोत्सवभन्दा पृथक र व्यवस्थित पाएको बताउँदै यस पटक पर्यटनलाई प्राथमिकतामा राखी सोही बमोजिम कार्यक्रम समेटिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । चितवन विकासको प्रशस्त सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो ।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र चितवनको गौरव र गरिमा समेटिएको चितवन महोत्सव भरतपुर महानगरपालिकाको रमणीय नारायणी नदी किनार परिसरमा संचालन हँुदा भरतपुर महानगरपालिकाको पनि गरिमा झल्किएको बताउनु भयो । यस्ता मेला र महोत्सवहरुले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याउन भूमिका खेल्ने, ज्ञान, सीप र प्रविधिको जानकारी आदानप्रदान गर्नुको साथै समग्र आर्थिक गतिविधिहरुको वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका सँधै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको दाबी गर्नुभयो । यसको ज्वलन्त उदाहरण यस महोत्सवमा महानगर सहआयोजक रहनु भएको उहाँको भनाइ थियो । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले यसको समुचित विकासको लागि योजनावद्ध ढंगले कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा पूर्वाधार विकासका कामहरु भैरहेको बताउनु भयो ।
महानगरपालिकामा आफूले नेतृत्व सम्हालेसँगै महानगरीय रिङरोड र लिङ्करोडको काम भैरहेको बताउँदै दाहालले सिटी हल र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पनि छिट्टै शुरू हुने बताउनु भयो । महानगरवासीको पहिलो माग सडक कालोपत्रे रहेको बताउँदै उहाँले अबको ४ बर्षभित्र सबै सडकहरुको स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजनाका साथ काम भइरहेको बताउनु भयो । प्रमुख दाहालले देवघाटमा शवदाह गृह, रानीपोखरी पार्क निर्माणकासाथै अन्य दर्जनौं कार्यक्रम अगाडि बढिरहेको बताउनु भयो ।


भरतपुर महानगरपालिकाले निजी क्षेत्रको समेत सहभागितामा निजी क्षेत्रले पनि प्रतिफल पाउने गरी कर नीति निर्धारण गरेर सँगसँगै अगाडि बढिरहेको उहाँले बताउनु भयो । महानगरको विकासमा निजी क्षेत्रको समेत आवश्यकता महसुस गरी सार्वजनिक निजी साझेदारी मोडेलमा विकास गर्न त्यस सम्बन्धी ऐन कानुनहरु निर्माण गरी अगाडि बढिरहेको जानकारी गराउँदै उहाँले भरतपुर महानगरमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
‘भरतपुर महानगरपालिकाले मेला महोत्सवहरुलाई व्यवस्थित र पारदर्शी बनाउन स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरे बमोजिम करको दायरामा ल्याउने काम गरेको छ’ उहाँले भन्नुभयो, ‘यसले यस्ता मेला महोत्सवहरुलाई  झनै व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्नेमा भरतपुर महानगपालिकाले विश्वास लिएको छ ।’
महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेकपाका नेता यमबहादुर परियार, नेपाली कांग्रेसका सभापति जितनारायण श्रेष्ठ लगायतले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


महोत्सव उद्घाटनपूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री प्रचण्डले बेलुन उडाएर उद्घाटन गर्नु भएको थियो । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको चितवन महोत्सवको आयोजक उद्योग वाणिज्य संघ चितवन र सहआयोजक भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति रहेका छन् ।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी आयोजना हुने आयोजकको भनाइ छ । महोत्सवमा व्यावसायिक, कृषि प्रवद्र्धन, सूचना प्रविधि, हस्तकला, शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, अटोमोवाइल्स, सामाजिक संस्था लगायतका पाँच सय ७० वटा स्टल रहेका छन् ।
महोत्सवलाई थप आकर्षण दिने स्टल मेड इन नेपाल रहेको छ । यस स्टलमा नेपालमा उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । महोत्सवमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ । कृत्रिम चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु, हात्ती, चरा लगायत विदेशमा पाइने जनावरको समेत मूर्ति राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस