विद्युतमा बेथिति : भाग ३

विद्युत प्राधिकरण भरतपुर : किन कार्यकारी निर्देशकको निर्देशनलाई अटेर गर्छ ?

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०७५, १२ : ५६
विद्युत प्राधिकरण भरतपुर : किन कार्यकारी निर्देशकको निर्देशनलाई अटेर गर्छ ?

चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाललाई लोडसेडिङमुक्त बनाएर लोकप्रिय व्यक्ति बनेका छन् । उनै घिसिङको निर्देशनलाई विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरु मान्दैनन् ।

कार्यकारी निर्देश घिसिङले विद्युत प्राधिकरण भरतपुरमै आएर कालो सूचीमा रहेका ग्राहकको विद्युत कटौती गर्न निर्देशन दिएपनि त्यसो हुन सकेको छैन । ६ महिनासम्म बक्यौता नतिर्ने ग्राहकको लाईन काट्न उनले निर्देशन दिएका छन् । तर विद्युत प्रधिकरण भरतपुरले ४१ महिनासम्म बक्यौता नबुझाउने ग्राहकको लाईन काट्न सकेको छैन । भरतपुर विद्युत प्राधिकरणमा यस्ता धेरै बेथिति छन् । सरकारी कार्यालयहरुले मातहतका मन्त्रालयबाट बजेट निकासीमा समस्या भएकाले यस्तो भएको बताउँदै आएका छन् ।

नेपाल विद्युत प्राधिकरण भरतपुर शाखा कार्यालय प्रमुख सुरेशकुमार महतोले कानमा तेल हालेर बसेकै कारण चितवनमा लामो समयसम्म बक्यौता नबुझाउने ग्राहक धेरै छन् । प्राधिकरण भरतपुर शाखा सधैं पर्ख र हेरको अवस्थामा बस्ने गरेको छ । ५ सय रुपैयाँ बक्यौता रहेको ग्राहकको लाइन काटिएको छ भने करोडौ रुपैयाँ नतिर्नेलाई ताकेता गर्दै दिन गुजार्ने गरेको पाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ग्राहकलाई कारबाही गर्न निर्देशन दिँदै आइरहेका छन् । तर, भरतपुर शाखाले भने व्यक्तिगत सम्बन्ध बिग्रिने भन्दै अहिलेसम्म कार्यकारी निर्देशकलाई नै गलत रिर्पोट बुझाउँदै आइरहेको स्रोत बताउँछ । भनिन्छ ‘झुठो कुरा लकाउन सकिदैन’ यस्तै भएको छ यहाँ । सधैं झुठो रिर्पोट बुझाउँदै आइरहेको प्राधिकरण भरतपुर शाखाले झुठो लुकाउनकै लागि पत्रकारहरुलाई सूचनाबाट बञ्चित गर्ने गरेको छ ।

यसअघि बक्यौताको सूची पाउन यस्तो अप्ठारो परिस्थिति थिएन । कार्यालयले सूचना दिनैका लागि सूचना अधिकारी पनि राखेको छ । पटकपटक सूचना माग्दा नदिने कार्यालयमा सूचना अधिकारीको पनि के काम ? प्रधिकरणले लाईन काट्नकै लागि भनेर टोली पनि निर्माण गरेको छ । कार्यालय प्रमुखको निर्देशन नपाएपछि टोलीले काट्नु पर्ने लाईन पनि काट्न सकेका छैनन् । दिनभर घुमेरै कार्यालय फर्किने गरेका छन् टोलीमा रहेका कर्मचारी ।

यो पनि पढ्नुहोस्,
विद्युत प्राधिकरण भरतपुर : यी हुन् बक्यौता नतिर्ने चितवनका टप चौध ग्राहक
विद्युत प्राधिकरण भरतपुर : बक्यौताको तथ्याङ्क बाहिर ल्याउन चाहँदैन

 

प्रतिक्रिया दिनुहोस