माइतमा बस्दै आएकी श्रीमतीमाथि एसिड प्रहार

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, ०८ : १३
माइतमा बस्दै आएकी श्रीमतीमाथि एसिड प्रहार

चितवन ।  पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् ।

पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ । एसिड प्रहारबाट अनुहार र टाउकोमा असर पुगेको रूम्बाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखराबाट ग१य ५४३ नम्बरको गाडीमा ४ जना युवासहित आएका विरेनले युवतीको माइतैमा पुगी एसिड हानेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस