प्रदेश नम्बर दुईमा मुख्यमन्त्री फेर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०७५, १५ : ०५
प्रदेश नम्बर दुईमा मुख्यमन्त्री फेर्ने तयारी

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रदेश नम्बर दुईमा मुख्यमन्त्री फेर्ने तयारी सुरु गरेको चर्चा चल्न थालेको छ । प्रदेश नम्बर दुईमा सरकार परिवर्तन गराई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवम् प्रदेश सांसद सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेकपाको प्रदेश सरकार छ । प्रदेश नम्बर दुई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धनको सरकार छ । स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भएको गोप्य वार्तामा प्रदेश नम्बर २ को सरकार ढालेर नयाँ सरकार बनाउने सहमति भएको हो ।

प्रदेश नम्बर दुईको सरकारबाट राउतलाई हटाएपछि पुरस्कारस्वरुप प्रधानमन्त्री ओली र नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले यादवलाई उपप्रधान तथा गृहमन्त्री बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ । गृहमन्त्री रामबहादुर थापाको कार्यशैलीबाट ओली र प्रचण्ड पछिल्लो समय खुसी छैनन् । थापालाई हटाउनको लागि प्रदेश २ को सरकार परिवर्तनको कुरा अगाडि ल्याएपछि ओली र प्रचण्डलाई सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस