नारायणगढमा ७४ जनाले गरे रक्तदान

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०७५, १७ : ४९
नारायणगढमा ७४ जनाले गरे रक्तदान

चितवन । रगतको अभावलाई मध्यनजर गर्दै नारायणगढका विभिन्न पँच वटा संघसंस्थाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् । नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आइरहेका नारायणगढका संघसंस्थाले जाडोको समयमा रगत संकलन कम हुने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । मंगलबार सहिदचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । 

लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष एवम् कार्यक्रम संयोजक अनुषा चुकेका अनुसार रक्तदान कार्यक्रममा १२ जना महिला तथा ६२ जना पुरुषले रक्तदान गरेका थिए । लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, नारायणी मोटर्स, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, रोट्रयाक्ट क्लब अफ भरतपुरले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै यी संस्थाहरुले हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु नेपालका पूर्व गभर्नर प्रभातकुमार जोशी रहेका थिए । रक्तदान कार्यक्रममा लायन्स क्लब इन्टरनशेनल डिष्ट्रिक्ट ३२५ बी टुका सिनिएर डिष्ट्रिक एडभाइजर सिद्धार्थलाल चुके, डिष्ट्रिक चिफ राजेन्द्र गौतम, रिजोन चियर पर्सन रजनी मास्के लगायतको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष अनुषा चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस