यी हुन् तलब र भत्ताले नपुगेर राज्यकोषबाट उपचार खर्च लिने सांसदहरु

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०७५, १६ : ३८
यी हुन् तलब र भत्ताले नपुगेर राज्यकोषबाट उपचार खर्च लिने सांसदहरु

काठमाडौँ । जनताका प्रतिनिधिका रुपमा निर्वाचित भएका संघीय संसदका केही सांसदहरुले राज्यकोषबाट पाउने तलब र भत्ताले नपुगेर उपचार खर्चका नाममा पनि रकम लिँदै आएका छन् । राजधानीमा घर भएर घरभाडा लिँदै आएका केही सांसदको सिको गर्दै यसरी उपचार खर्च कुम्ल्याउनेमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु समान देखिएका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका ४१ जना सांसदले छ महिनामा स्वास्थ्योपचार वापत ६८ लाख रुपैयाँ राज्यकोषबाट कुम्ल्याएका छन् । उनीहरुबाट खर्च भनेर आएका अधिकांश बिल भरपाई फर्जी रहेको पाइएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपचार खर्च वापत उपलब्ध गराइएको सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई उपलब्ध गराइएको औषधि उपचारबापतको रकम बिलभर्पाइ अध्ययन गरेर उपलब्ध गराइएको बताए ।

प्रतिनिधि सभामा कुल २ सय ७५ र राष्ट्रिय सभामा कुल ५९ सदस्यीय गरी ३ सय ३० सदस्य रहेको संघीय संसदमा औषधि उपचार वापतको रकम लिने ४१ जना सांसदले रकम कुम्ल्याइसकेका छन् । प्रतिनिधि सभाका १७ जना र राष्ट्रिय सभाका ७ जना गरी २३ जना महिलाले औषधि उपचार वापतको रकम लिएका छन् । उनीहरूमध्ये धेरैले ९ हजारदेखि तल १५ सयदेखि माथिको रकम लिएको पाइएको छ । तर एक जना राष्ट्रिय सभा सांसदले दुई लाख रुपैयाँभन्दा बढी लगेकी छिन् । ती सांसदले वीर अस्पतालको भन्दै फर्जी बिल ल्याएको स्रोतले जानकारी दियो । राष्ट्रिय सभा सदस्य रहेकी शान्तिकुमारी जिसीले एक पटक ४८ हजार ८ सय ८९ र अर्को पटक १ लाख ८४ हजार ४ सय ८० रुपैयाँ उपचार खर्च लगेको सचिवालये जानकारी दियो । उनको उपचार खर्च जायज हो कि होइन हेर्दै नहेरी भुक्तानी दिइएको छ ।

प्रतिनिधि सभातर्फ सांसद आशाकुमारी विक, उमा रेग्मी, कल्याणीकुमारी खड्का, दिलकुमारी, नन्दा चपाई, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, विमला विश्वकर्मा, मैनाकुमारी भण्डारी, रंगमती शाही, रेनुका गुरुङ, बोधमायाकुमारी यादव, समिना हुसेन, सानु शिवा, विष्णु शर्मा, सीतादेवी यादव, ज्ञानकुमारी छन्त्यालले सचिवालयबाट उपचार खर्चको नाममा रकम लगेका छन् । उनीहरुको बिल भरपाई शंकास्पद रहेको स्रोतको भनाइ छ ।

राष्ट्रिय सभातर्फका महिला सांसदहरुमा कमलाकुमारी ओली, कविता बोगटी, प्रमिला कुमारी, मिना बुढा, विन्दादेवी आले राना, राष्ट्रिय सभा उपाध्य शशीकला दाहाल, शान्तिकुमारी अधिकारी जिसीले पनि सचिवालयमा बिल पेश गरेर रकम लिएका छन् । औषधि उपचार वापतको रकम लिनेहरुमा अगमप्रसाद वान्तवा राई, उदय शर्मा पौडेल, खिमकुमार विक, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, रामचन्द्र राई, सुरेन्द्रराज पाण्डे समेत रहेका छन् । उपचार खर्च लिने प्रतिनिधि सभाका सांसदमा गजेन्द्रबहादुर महत, घनश्याम खतिवडा, ध्रुवकुमार शाही, नवराज रावत, नन्दलाल रोका क्षेत्री, प्रकाश पन्थ, भीमबहादुर रावल, मानबहादुर विश्वकर्मा, लीलानाथ श्रेष्ठ, यज्ञराज बोगटी र स्मृतिनारायण चौधरी रहेका छन् ।

प्रतिनिधि सभाका सदस्यमध्ये मानबहादुर विश्वकर्माले तीन पटक औषधि उपचार खर्च लिएको सचिवलायको भनाइ छ । विकले १ हजार ९ सय ८६, १ हजार ३ सय २३ र ५ हजार ३ सय ३५ रुपैयाँ लिएको सचिवालयको लेखा शाखाको भनाइ छ । स्मृतिनारायण चौधरीले पाँच पटक औषधि उपचार खर्च लिएका छन् । नवराज रावतले तीन पटक औषधि उपचार खर्च लिएका छन् । अधिकांश सांसदले नक्कली बिल भरपाई बनाएर समेत पैसा लिएको पाइएको भएपनि त्यसलाई रोक्नेतर्फ कुनै पनि प्रयास भएको छैन । सभामुख कृष्णबहादुर महराले यसतर्फ कुनै चासो दिएका छैनन् । सचिवालयका कर्मचारी त कमिसन पाइने भएपछि जुनसुकै काम गर्न पनि राजी भइहाल्छन् ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसदहरूलाई चिकित्सा बोर्डको सिफारिस अनुसार उपचार खर्च उपलब्ध गराइन्छ । सांसदलाई उपलब्ध गराइएको औषधि उपचार वापतको रकम बिलभर्पाइ अध्ययन गरेर उपलब्ध गराइएको बताइन्छ । तर ती बिल भरपाई अधिकाशं फर्जी रहेको सचिवालयको लेखा शाखाका एक अधिकृतले बताए । उनी भन्छन्, ‘पूरै नक्कली बिल ल्याएर पेश गरिएको छ । यो त मिल्दैन हजुर भन्यो भने सांसद तपाई कि म भन्दै थर्काउँछन् । हामीले त बाध्य भएर दिनै पर्छ ।’

विगतको ६ सय १ सदस्यीय संसदको तुलनामा औषधि उपचार वापत रकम लिन आउने सांसदको संख्या न्यून भएपनि गलत कागजात पेश गरेर राज्यकोषबाट उपचार खर्चका नाममा रकम लिने गरेको पाइएको छ । एक जना सांसदले त २० लाख रुपैयाँसम्म रकम माग गरेका छन् । ‘पहिला सांसदले ल्याएका औषधि उपचारका बिलभर्पाई अस्वीकृत गरेर पनि धेरै नै फिर्ता पठाइयो तर अहिले भने धेरै बिलभर्पाई अस्वीकृत गर्नु परेको छैन । जे जे आएको छ सबै मिलाएर पठाउने गरेका छौं’ लेखा शाखाका ती अधिकृतले भने, ‘विगतका सांसद सोझा थिए, त्यति धेरै गलत गर्दैनथे, अहिलेका सांसद चम्बु छन्, मनलाग्दी बिलभर्पाई बनाएर राज्यकोष दोहन गर्न लागिपरेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस