भरतपुर महानगरको सार्वजनिक सुनुवाईमा कार्य प्रगतिको फेहरिस्त

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०७५, १४ : ५८
भरतपुर महानगरको सार्वजनिक सुनुवाईमा कार्य प्रगतिको फेहरिस्त

चितवन । भरतपुर महानगरपालिकाले बुधबार वडा नम्बर २० चनौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेपछि हालसम्म भएका कामहरुको विवरण प्रस्तुत गरिएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा प्रस्तुत कार्य प्रगति विवरण अनुसार स्मार्ट सिटी मास्टर प्लानका लागि प्रश्नावली तयार भै घरपरिवार तहको तथ्यांक संकलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सहभागितामूलक विकास मोडल अवलम्वन गरी ५० देखि शत प्रतिशतसम्म लागत सहभागिता जुटाइएको, ४ स्थानमा निजी सवारी साधन पार्किङ लट सञ्चालनमा ल्याइएको,  वडा नम्बर ३ स्थित  न्यूरोडमा ट्रक पार्किङ्गको व्यवस्था गरिएको, सडक पेटीमा व्यवसाय गर्नेलाई बालकुमारी कन्या माविको जग्गा भाडामा लिई व्यवस्थापन गरिएको, तीनपांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा नियमन गरिएको र अन्य साना सवारी साधनको रुट निर्धारणको प्रक्रिया शुरु गरिएको विवरणमा उल्लेख छ ।

यसैगरी, सडक बत्ती जडान, वृक्षारोपण, एक घर एक बिरुवा अभियान, वडा नम्बर चारलाई वातावरणमैत्री वडा घोषणा, वडा नम्बर दुईलाई बालश्रममुक्त वडा घोषणा, सिंगो महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा, महानगरभित्र रहेका सार्वजनिक र पर्ती जग्गाहरु खोजबिन गरी संरक्षण, स्वदेशी र विदेशी शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरिएको प्रगति विवरणमा जनाइएको छ ।

पूर्वाधारतर्फ
– सडक ग्राभेल, पीच, नाली, सडकपेटी, पार्क तथा पोखरी निर्माण तथा संरक्षण ।
– ९५ किमी रिङ्गरोड र केही लिंकरोडमध्ये १० किमी रिङ्गरोड र ६५ किमी लिङ्करोड निर्माण शुरु  भएको छ भने अन्य स्थानमा ईआइए र विस्तृत परियोजना प्रतिवजेदन (डीपीआर) तयार हुँदैछ ।
– गत आवमा महानगर, जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे भएका छन् । करिब ६० किमी सडक मर्मत भएका छन् ।
– महानगरपालिकाका वडा कार्यालयहरु व्यवस्थित गर्न २ वटा वडा कार्यालयको निर्माण सम्पन्न भैसकेको छ भने अन्य ५ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् ।
– सहरी विकास मन्त्रालयको बजेटबाट देवाघाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बस टर्मिनल मर्मतका साथै रिङरोड र लिंकरोडको काम प्रारम्भ भएको छ ।
– नारायणगढको लायन्सचोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुतले व्यवसायिक भवन निर्माणको काम डिजाईनको प्रक्रियामा रहेको र यसै बर्षबाट काम शुरु गर्ने लक्ष्य लिइएको छ  ।
– पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो फुटपाथ र सर्भिस ट्रयाक यसै आवमा सुरु गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।
– फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आँपटारीमा रहेको महानगरपालिकाको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रमका लागि कोरियाली सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्बन्धी सम्झौता भई काम भैरहेको ।
– भरतपुर वडा नम्बर १९ स्थित रानीपोखरी पार्क निर्माण सहितको पहुँचमार्ग, देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कको स्तरोन्नति टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढेको छ ।
– सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि तीन नम्बर वडा अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको छ ।
– औद्योगिक प्रदर्शनीस्थल  र भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार निर्माणमा महानगरको समन्वयात्मक पहल रहेको छ ।

सुशासनतर्फ
– महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक ४ वटा ऐन, २ वटा नियमावली र १८ वटा कार्यविधिहरु निर्माण भई लागु भएका छन् । ऐनहरु स्थानीय राजपत्रमा प्रकाशित गर्ने क्रम शुरु भएको छ ।
– विवादहरुको निरुपण मेलमिलाप पद्धतिबाट हुने गरेको छ भने केही विवादहरु न्यायिक समितिबाट टुंगो लगाइएका छन् । महानगरको इजलास पनि सञ्चालनमा आएको छ ।  
– वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा अप्टिकल फाइबर जडान गर्ने काम भैरहेको छ ।
– नगरबासीहरुको जनगुनासो सुन्नका लागि टोल फ्रि नम्बर (१६६००५६५२२२२) र हेल्प डेस्कको स्थापना गरिएको छ ।

स्वास्थ्यतर्फ
– महिला तथा ज्येष्ठ नागरिकहरूलाई भरतपुर अस्पतालको ओपिडि टिकट निःशुल्क रुपमा उपलव्ध गराइएको ।
– चितवनलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरे अनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल भएको ।
– भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अघि बढेको छ ।
– वडा नम्बर ९ मा शहरी स्वास्थ्य क्लिनिक स्थापनाको प्रकृयामा रहेको छ ।

शैक्षिक प्रशासनतर्फ
– शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न कार्यदल गठन गरी कामहरु प्रारम्भ भएको छ ।
– नगर शिक्षा ऐनको प्रमाणीकरण, राजपत्रमा प्रकाशन र सरोकारवालाबीच सार्वजनिकीकरण ।
– विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि तथा विद्यालय लेखापरीक्षण कार्यविधि निर्माण गरी कार्यान्वयन ।
– नगर शिक्षा समिति एवं नगरस्तरीय आधारभूत परीक्षा समिति गठन ।

कृषितर्फ
– कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विषेश कार्यक्रमहरु संचालन गरिएको ।
– महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रतिलिटर २५ पैसाका दरले प्रोत्साहनस्वरुप नगद अनुदानको वितरण ।
– तरकारी, फलफुल, माछा, खाद्यान्न उत्पादनमा लागेका किसानलाई औजार, सिँचाई लगायतमा अनुदानको व्यवस्था गरिएको ।
– कृषि तथा सहकारी मन्त्रालयबाट वडा नम्बर २, को बालकुमारी, वडा नम्बर २४ को केरुङ्गा र वडा नम्बर १८ मा तरकारी तथा फलफूल संकलन केन्द्र स्थापना हुने ।

पर्यटन विकासतर्फ
– पटिहानीमा अम्रेला भ्यू टावर निर्माणको चरणमा रहेको, चौकीडाँडामा सूर्योदय र गोलाघाटमा सूर्यास्त अवलोकनका लागि भ्यू टावर निर्माण प्रक्रियामा रहेका छ ।
– धार्मिक पर्यटनको रुपमा देवघाट, छितामाई र गणेशस्थानलाई विकास गर्ने, पर्यापर्यटनको लागि बीसहजारी ताल, बाटुली पोखरी, पटिहानी, जगतपुर र मेघौलीलाई केन्द्र बनाउने महानगरले लक्ष्य राखेको छ ।

राजस्वतर्फ
– राजस्वमध्ये सम्पत्ति कर, ब्यवसाय कर, सेवा शुल्क तथा घरबहाल कर प्रमुख रुपमा रहेका छन् ।
– ब्यवसाय करको सम्बन्धमा श्रेणी निर्धारण गरिएको र ब्यापारीको स्वघोषणाको आधारमा कर लिने कार्य गरिएको छ । (पुँजी, लगानी, कारोबार तथा लोकेसनको आधारमा स्वघोषणा) ।
– घरबहाल कर र व्यवसाय कर संकलनलाई व्यवस्थित गर्नका लागि कार्यविधि तथा सफ्टवेयर निर्माणको कार्य भैरहेको ।
– सहज तथा सरल सेवा प्रदान गर्नको लागि १५ वटा वडाबाट राजस्व सम्बन्धी कार्य हुँदै आएको । छिट्टै सबै वडामा बिस्तार हुने ।
– सबै वडामा अप्टिकल फाइबर बिछ्याउने कार्य प्रारम्भ भएको ।
– राजस्वको दायरा वृद्धिका लागि उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघसँग सहकार्य अघि
बढाइएको ।

चालु आवको प्रथम चौमासिकमा सम्पादन भएका काम
– गत वर्षका क्रमागत कार्यक्रमहरु (नगरस्तरीय र वडास्तरीय) मध्ये केही सम्पन्न भएका र केही सम्पन्न हुने क्रममा रहेका । जसबाट हालसम्मको परिणाम यसप्रकार रहेको छ :
१) सडक पीच        वडास्तरीय ३.५२ किमी, नगरस्तरीय १७.८६ किमी, जम्मा ३१.३८ किमी
२) सडक ग्राभेल    वडास्तरीय २.८७ किमी    , नगरस्तरीय ४९.९ किमी, जम्मा ५२.७७ किमी
३) मोजाइक टायल    वडास्तरीय १२७५ वर्गकिमी, नगरस्तरीय १०७२ वर्गकिमी, जम्मा २३४७ वर्गकिमी
४) ढल निर्माण        वडास्तरीय २ किमी, नगरस्तरीय ०.५ किमी, जम्मा २.५ किमी
५) मेसजाली        वडास्तरीय ०.०४६, नगरस्तरीय १.७५३, जम्मा १.७९९
६) तारजाली        वडास्तरीय ०.३ किमी, नगरस्तरीय ०.३ किमी, जम्मा ०.६ किमी
७) अन्य संरचना     वडास्तरीय कल्भर्ट ३, शौचालय २, पार्क १, पक्की पूल १, इनार २, नगरस्तरीय कल्भर्ट ४, खेलमैदान १, भवन निर्माण ५ वटा    

– ठूला पूर्वाधार संरचनाका रुपमा मेट्रो सभा हल,  क्रिकेट स्टेडियम,  अटोल्याण्ड  निर्माणका लागि तयारीजन्य कार्यहरु भैरहेका ।
– व्यवस्थित ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि कोरियन कम्पनीसँग सम्झौता गरी पहिलो चरणमा मास्टर प्लान तयारीका लागि कोरियन सरकारको सहयोगका लागि पहल भैरहेको ।
– क्षमता विकास कार्यक्रमहरु सञ्चालन भएको (विपद् व्यवस्थापन, जीआईएस, नगर प्रहरी, सरसफाई कर्मचारी, प्राविधिक कर्मचारी) ।
– वेबसाइट, बुलेटिन प्रकाशन एवं सूचना अद्यावधिक गरिएको ।
– फुटपाथ व्यवस्थापन,  तीनपांग्रे सवारीसाधनको सञ्चालन सम्बन्धी व्यवस्था ।
– मेयरसँग महिला, मेयरसँग जोखिम समूह सशक्तिकरण कार्यक्रम ।
– वातावरणीय सरसफाई अभियान निरन्तर चलेको ।
– आव २०७५।७६ को प्रथम चौमासिकसम्म बोलपत्रर दरभाउपत्र स्वीकृत संख्या २० वटा ।
– प्रदेश स्तरीय विभिन्न ४ वटा योजनाको उपभोक्ता समिति गठन भई लागत अनुमानको तयारीमा रहेको ।
– वडा नम्बर १३, १७ र २८ का वडा कार्यालयहरु र सपिङ्ग कम्प्लेक्स वडा नम्बर २१ निर्माणको लागि बोलपत्र आव्हान गरी सम्झौताको प्रक्रियामा गएको ।
– जलवायु परिवर्तन एवम् विपद् व्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
– विपद व्यवस्थापनका लागि दमकल खरिद प्रकृया सुरु ।

अन्य
– सेवाप्रवाहमा सुधारका लागि पहल (सेवा केन्द्रको अवधारणा, वडा कार्यालयहरुको सशक्तिीकरण)
– सूचना प्रविधिमैत्री र नागरिकमैत्री सेवा ।
– कानूनहरुको निर्माण र राजपत्रमा प्रकाशन ।
– वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणको पहल ।
– नारायणी नदीमा आएको बाढी नियन्त्रण गरी क्षति हुनबाट जोगाउने कार्य ।
– बजार र राजमार्गको मुख्य २० वटा स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गरिएको ।
– राजमार्गका अटो व्यवसाय र रिकण्डिसन हाउसहरुलाई छलफलमा बोलाई व्यस्थापन गर्ने कार्य शुरु गरिएको ।
– महानगर परिसरभित्र नयाँ तीनतले कार्यालय भवन निर्माण र पार्किङ व्यवस्थापनको कार्य शुरु गरिएको ।
– यस आवको कात्तिक मसान्तसम्मको राजस्व संकलन र मंसिर मसान्तसम्मको जम्मा राजस्व संकलन १८ करोड ५ लाख ।
– चालू खर्च ५३ करोड र पुँजीगत खर्च ३३ करोड ।

भावी योजना
– केही ठूला पूर्वाधारहरु निर्माण प्रारम्भ हुने ।
– ठूला आकारका महानगरीय पार्क विकास ।
– खुल्ला चिडियाखानाको अवधारणा ।
– वडा कार्यालय भवन निर्माण ।
– स्कूलहरुको भवन निर्माण ।
– सार्वजनिक जग्गाको पहिचान र संरक्षण ।
– सशक्तिकरण एवं क्षमता विकासका कार्यक्रम ।
– उत्पादन बढाउने कार्यक्रम ।

प्रतिक्रिया दिनुहोस