कसले पुर्‍यायो अख्तियारको गोप्य सूचना भ्रष्टाचार आरोपित ठेकेदार विक्रम पाण्डेसम्म ?

सफल खबर संवाददाता

विहीबार, २७ मंसिर २०७५, १७ : १६
कसले पुर्‍यायो अख्तियारको गोप्य सूचना भ्रष्टाचार आरोपित ठेकेदार विक्रम पाण्डेसम्म ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाईमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुनुभन्दा अगाडि नै त्यसबारेको सूचना भ्रष्टाचार आरोपित ठेकेदार विक्रम पाण्डेसमक्ष पुगेको खुलासा भएको छ । राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेमाथि मुद्दा चलाउन अख्तियारले तयारी गरिरहेका बेला कति रकम बिगो तोकिँदैछ भन्नेसम्मको पूर्वसूचना पाण्डेले पाइसकेको स्रोतको दाबी छ ।

ठूला विकासे आयोजनाहरुमा भइरहेको भ्रष्टाचारबारे छानविनका लागि अख्तियारले गृहकार्य गरिरहेकै बेला त्यहाँभित्रको गोप्य सूचना भ्रष्टाचार आरोपीसम्म पुग्ने गरेको खुलासा भएको हो । विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे आफ्नो कार्यालयबाट भ्रष्टाचार आरोपित विक्रम पाण्डेलाई गोप्य सूचना पुर्याउने सुराकी खोज्नतिर लागेको स्रोतले बतायो । स्रोत भन्छ, ‘विक्रम पाण्डेलाई मुद्दा चलाउनुअघि नै अख्तियारबाट उनलाई सम्पूर्ण रिपोटिङ भएको पाइएको छ । अख्तियारजस्तो संस्थामा बसेर भ्रष्टाचारीको पक्षमा काम गर्ने व्यक्तिको खोजी भइरहेको छ । फेला पर्नासाथ कारबाही हुन्छ ।’

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको भूमिकामाथि नै मूल नेतृत्वले शंका गर्न थालेको स्रोतले बतायो । पाठकले भ्रष्टाचारी एवं शंकास्पद व्यक्तिहरुसँग अनुचित सम्बन्ध राख्ने गरेको भन्दै उनीमाथि आन्तरिक छानबिन हुन थालेको बुझिएको छ । अख्तियारको आयुक्त भइसकेपछि पाठकले आचारसंहिता विपरीत कार्यहरु गरिरहेको गुनासो बढेपछि अख्तियारको मूल नेतृत्व सजग भएको हो । देशमा भ्रष्टाचार नियन्त्रणका लागि भूमिका खेल्नुपर्ने संस्थामा विगतमा आयोगका पदाधिकारी नै भ्रष्टाचारमा लागेको गुनासो आउने गरेकाले यो संस्थाको छवि धूमिल बनेको अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस