ह्वावेकी वित्तीय कार्यकारीलाई क्यानडामा धरौटीमा छोड्न आदेश

एजेन्सी

बुधबार, २६ मंसिर २०७५, ११ : १८
ह्वावेकी वित्तीय कार्यकारीलाई क्यानडामा धरौटीमा छोड्न आदेश

एजेन्सी । क्यानाडाको एक अदालतले चिनियाँ टेलिकम फर्म ह्वावेइकी प्रमुख वित्तीय कार्यकारी मङ्ग वान्जूलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
अमेरिकाले सुपुर्दगी गर्न अनुरोध गरेपछि गत डिसेम्बर १ तारिखमा उनी भ्यान्कुबरमा पक्राउ परेकी थिइन् । त्यो कदमले कूटनैतिक तनाव बढाएको थियो ।

४६ वर्षीया मङ्ग ह्वावेकी संस्थापककी छोरी हुन् । उनीविरुद्ध प्रतिबन्धहरूको बेवास्ता गर्दै इरानलाई टेलिकम सामान बेच्ने एक कम्पनीसँगको सम्बन्ध ढाकछोप गरेको आरोप लगाइएको छ ।
मङ्गले ती आरोपहरू अस्वीकार गर्दै आएकी छन् । उनलाई अमेरिका सुपुर्दगी गर्ने योजना बनाइएको छ ।

क्यानडका न्यायाधीशले उनीबाट ७५ लाख डलर धरौटी लिने र खुट्टामा 'इलेक्ट्रोनिक ट्याग' अर्थात विद्युतीय उपकरणसहित उनी निरन्तर निगरानीमा रहनुपर्ने आदेश दिएका छन् ।

उनलाई अमेरिका सुम्पने प्रक्रिया पूरा हुन वर्षौं लाग्न सक्छ । उनी पक्राउ परेपछि चीनमा आक्रोशहरू व्यक्त भएका थिए । उनलाई नछोडिए गम्भीर परिणामहरू हुने चेतावनी चीनले दिएको थियो ।

चीनमा क्यानडाली पक्राउ
अर्कोतिर क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा एक पूर्व क्यानडाली कूटनीतिज्ञलाई हिरासतमा लिइएको सम्बन्धमा आफूले बेइजिङबाट जबाफहरू खोजिरहेको बताएका छन् ।

माइकल कोभ्रिङ इन्टरन्याशनल क्राइसिस ग्रुप नाम गरेको नीति अनुसन्धान संस्थामा काम गर्दछन् । क्यानडाका एक मन्त्रीले उनको गिरफ्तारी र मङ्ग वान्जू पक्राउ पर्नुबीच सीधा सम्बन्ध भए नभएको अझै प्रष्ट भइसकेको छैन ।

अमेरिकी विदेश मन्त्रालयले पनि कोभ्रिङलाई नियन्त्रणमा लिने कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई मानिसहरूलाई जथाभाबी पक्रिने क्रम रोक्न आह्वान गरेको छ । - बीबीसी 

प्रतिक्रिया दिनुहोस