अमेरिका र चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

एजेन्सी

आइतबार, १६ मंसिर २०७५, १७ : ०१
अमेरिका र चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

ब्युनस आयर्स  । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । 

दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन । 

दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीया सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ । 

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा हुनुहुन्छ । 

चिनीया विदेशमन्त्री वाङ यीले भन्नुभयो, “यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ ।” 

सम्झौता बमोजिम अर्को वर्षको शुरुबाटै चिनीया सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो । 

झण्डै ५० अर्ब डलर बराबरका चिनीया सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २०० अर्ब डलर बराबरका चिनीया सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिनुभएको छ । 

यहीबीच, चीनले करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । चीनमा रहेका व्यापारिक अबरोधहरु, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीहरुका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीन विरुद्ध थप दण्डात्मक कार्यबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ । 

अमेरिकी राष्ट्रपतिले जारी गर्नुभएको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरु रहेको बताउँदै चिनीया राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गर्नुभएको छ । 

चिनीया राष्ट्रपति सी जिनपिङले भन्नुभयो, “हामीबीचको सहयोगात्मक कार्यहरुले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।” 

दुवै नेताबीचको रात्रिभोज सोचिएको भन्दा लामो समय चलेको थियो । रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरुको समेत सहभागिता थियो ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस