काठमाडौँ । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएशन अफ नेपाल (हान) ले सरकारले तर्जुमा गर्न लागेको मदिरा बेचबिखनसम्बन्धी आदेश तथा नीतिलगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
हानका पदाधिकारी र तारे होटल सञ्चालक तथा प्रतिनिधिको आजको आकस्मिक बैठकले मदिरा बेचबिखनसम्बन्धी मस्यौदामा भए बमोजिमका निर्णय लागू गरिए मर्यादित व्यवसाय गरिरहेका होटल प्रत्यक्ष मारमा पर्ने ठहर गर्दै ध्यानाकर्षण गरिएको हो ।
हानका अध्यक्ष अमरमान शाक्यले सरकारले शान्ति, सुरक्षा र अमनचैन कायम राख्न गर्ने कार्य सकारात्मक रहेपनि मदिरा बेचबिखनसम्बन्धी व्यवस्थाले होटललगायत आतिथ्यता उद्योगका सम्पूर्ण संयन्त्र नै प्रत्यक्ष मारमा पर्न जाने बताउनुभयो । उहाँले सम्पूर्ण सरोकारवालाहरुसँग गहन छलफल तथा वृहत परामर्श गरी व्यवसायमैत्री नीति आउनुपर्नेमा जोड दिनुभयो ।
अतिथ्यता उद्योग नै नेपालको प्रमुख पहिचान तथा पर्यटकीय स्रोत भएकाले आसन्न नेपाल भ्रमण वर्ष २०२० समेतलाई मध्यनजर राखी निर्णय कार्यान्वयनमा जानु पूर्व घनिभूत छलफल गरी कार्यसम्पादन गर्न हानले माग गरेको छ । बैठकले सदस्य होटलहरुबाट यथाशीघ्र आवश्यक सुझाव सङ्कलन गरी सम्बन्धित मन्त्रालयमा वृहत सुझाव पेश गर्न सङ्घका कानूनी सल्लाहकार डा गान्धी पण्डितको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
यसैगरी सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषको बारेमा सङ्घकी प्रथम उपाध्यक्ष सृजना राणाले विस्तृत जानकारी दिई सङ्घका सदस्यलाई थप जानकारी सहितको विवरण सम्प्रेषण गर्ने जानकारी गराउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस