तामाकोशीको लागत बढेपछि मन्त्री पुन असन्तुष्ट

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १६ : ०३
तामाकोशीको लागत बढेपछि मन्त्री पुन असन्तुष्ट

काठमाडौं । दोलखाको लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत रहेको भनिएपनि पछिल्लो समयमा भारतीय ठेकेदार कम्पनी टेलम्याकोले तोकिए अनुसार काम नगर्दा आयोजना प्रभावित भएको छ ।

कूल ३५ अर्बको आयोजनाको लागत बढेर ५० अर्ब रुपैयाँभन्दा बढी पुगेपछि मन्त्री वर्षमान पुनले ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ लगायतलाई बोलाएर आयोजनाको प्रगतिमा भइरहेको ढिलाईप्रति आपत्ति मात्रै जनाएनन्, दोषीमाथि कारवाही गर्ने चेतावनी समेत दिए ।

आयोजनाको मुख्य काम नै बाँकी रहेपछि मन्त्री पुनले किन त्यस्तो भएको हो भनेर जिज्ञासा राख्दै तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् । ठाडो सुरुङमा जडान गर्नुपर्ने स्टिल लाइनिङको काम अगाडि बढ्न सकेको छैन । भारतीय ठेकेदार कम्पनी दुई वटा ठाडो सुरुङमा जडान गर्नुपर्ने पाइप जडान गर्न सकेको छैन । सिभिल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सम्पन्न गरेपनि अरु काम भने अगाडि बढ्न सकेको छैन ।

टेलम्याकोले काम नगरेपछि त्यसको जिम्मा समेत एन्ड्रिज हाइड्रोलाई दिने तयारी गरिएको छ । आयोजना सधै यत्तिकै हालतमा राख्न सकिदैन, किन ढिलाई भएको हो ? समस्य के हो ? समाधान कसरी निस्कन्छ ? लगायतका विषयमा मन्त्री पुनले जिज्ञासा राखेका छन् । उनले जसरी भएपनि आयोजनाको काम तत्काल सम्पन्न गर्न आयोजना प्रमुख तथा प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्देशन दिएका छन् ।

आयोजना प्रमुख, भारतीय ठेकेदार तथा परामर्शदाताको विशेष लगावमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको लागत र समयावधि लगातार बढाइएको छ । विद्युत् आयोजना बनाएको भरमा मात्रै आर्थिक समुन्नति हुन सक्दैन भन्दै आयोजनाको प्रमुख, इन्जिनियर तथा उच्च पदस्थ कर्मचारी तथा केही पूर्वसांसदले जसरी भएपनि लागत बढाउनै पर्ने भन्र्दै चर्को दबावमा लागेका थिए । दोलखाका स्थानीय निकायका अधिकारी समेत आयोजनाको लागत र समयावधि बढाउन लागिपरेका थिए ।

आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले नै ठेकेदारलाई आइडिया र सूचना उपलब्ध गराउने गरेका छन् । उनले भारतीय कम्पनी टेलम्याकोलाई कसरी आयोजनाको काममा ढिलाई गर्न सकिन्छ भन्दै उपाय समेत उनै कम्पनीले प्रस्तावमात्रै ल्याउने  होइन, आयोजना प्रमुख श्रेष्ठले समेत हचुवाको भरमा सदर गर्ने गरेका छन् ।

दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ लामाबगरमा सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्फ तामाकोशी नदीको उपल्लो खण्डमा स्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगावाट क्षमताको ‘पिकिङ रन अफ रिभर’ मोडलको आयोजना हो । २०६८ भदौमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको माथिल्लो तामाकोशि स्वदेशी लगानीमै निर्माण भइरहेको हालसम्मकै ठूलो आयोजना हो ।

नेपाल सरकारले राष्ट्रिय गौरवको रुपमा घोषणा गरेका जलविद्युत आयोजनाहरुमध्ये यो एकमात्र निर्माणाधीन आयोजना हो । दैनिक पिकिङ प्रकारको यस आयोजनाले सबैभन्दा सुक्खा मौसममा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्दछ । यस आयोजनाको निर्माण कार्य हाल ९४ प्रतिशत पुरा भइसकेको छ भने २०७५ पौष सम्ममा आयोजनाको प्रथम युनिटबाट विजुली उत्पादन हुने अपेक्षा गरिएको छ । आयोजनाको ६ वटै युनिटबाट विजुली उत्पादनको लागि भने २०७६ बेशाखसम्म प्रतिक्षा पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस