वाइडबडी जहाजको आम्दानीभन्दा खर्च धेरै

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १७ : ०९
वाइडबडी जहाजको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका अन्तर्राष्ट्रिय उडानका पाँच वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाजको आम्दानीभन्दा खर्च धेरै देखिएको छ ।

व्यापारिक योजना अनुसार लामो दूरीका क्षेत्र (लङ हव डेस्टिनेसन) कोरिया, जापान, चीन, अस्ट्रेलिया लगायतका देशको गन्तव्यमा उडान गर्न नपाएका कारण जहाज उडेपनि पूर्ण क्षमतामा यात्रु बोक्न नपाएकोले घाटा भएको उल्लेख निगमको भनाइ छ । निगमले सञ्चालनमा ल्याएको ए ३३० जहाज आएपछि अगस्टदेखि सेप्टेम्बरसम्ममा २६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो जहाजले यस अवधिमा गरको खर्च ७५ करोड ६६ लाख छ । यो अवधिमा निगमको यो जहाजले गरेको घाटामात्रै ४९ करोड १८ लाख छ ।

निगम सञ्चालक समितिमा रहेका निजी विमान कम्पनीका प्रतिनिधिले हरेक निर्णय प्रक्रियागत रुपमा हुनुपर्छ भन्दै अवरोध गर्ने गरेका छन् । निगमले आफूसँग रहेका २ सय ७४ सिट क्षमताका २ वटा जहाजमा पूरै क्षमतामा यात्रु भरेर उडाउन सकिरहेको छैन । निगमले यसअघि बोइङ तथा न्यारोबडीबाट उडान गरिरहेकै दिल्ली, मुम्बइ, बैंङ्लोर, थाइल्यान्ड, हङकङ, क्वालालम्पुर, दुबई र दोहामा पाँचै वटा जहाज पालैपालो उडाइरहेको छ । यी गन्तव्यबाट निगमले आशातित उपलब्धि पाउन र खर्च व्यस्थापन गर्न सकेको छैन ।

निगमसँग भएका अन्तर्राष्ट्रियबाहेक आन्तरिक उडानका ९ वटा जहाजमध्ये ६ वटा वर्षौंसम्म ग्राउन्डेड हुने, सञ्चलनमा आएका पनि बेलाबेलामा थन्किने गरेका कारण पनि निगम घाटामा गएको छ । निगमको अवधारणा अन्तर्राष्ट्रिय उडानबाट कमाउने र आन्तरिकमा सहुलियत उडान गर्ने भएपनि अन्तर्राष्ट्रिय उडान घाटामा जानु र आन्तरिकका विभिन्न २२ वटा गन्तव्य भएपनि उडान गर्ने जहाज नै नहुनु प्रमुख समस्या रहेको छ । निगमले सार्वजनिक गरेको वायुसेवा निगमको स्वेतपत्रमा यसको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

निगमले जहाज किन्न ३७ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ । यसको व्याज मात्रै बाािषर््क ३ अर्ब ६६ करोड रुपैयाँ तिर्नुपर्छ । आन्तरिकका ९ वटा जहाजमध्ये ६ वटा ग्राउन्डेड छन् । यसले पनि निगमको आन्तरिक घाटा चुलिँदै गएको छ । आन्तरिक उडान घाटा बर्षेनी बढिरहेको अवस्थामा चिनियाँ जहाज थपिएछि यो घाटा अझै बढ्न थालेको छ ।

पछिल्लो समय निगमसँग भएका जहाजमा तीन वटा ट्वीनअटर तीन वटै ग्राउन्डेड छन् । २ वटा एमए ६० मध्ये एउटा ग्राउन्डेड छ भने चार वटा वाई १२ मध्ये २ वटा ग्राउन्डेड अवस्थामा रहेको छ । आन्तरिक उडानका यी जहाज निगमले उडाउनै नसकेका कारण पनि घाटा बढाउन थप सहयोग गरेको स्वेतपत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस