प्रचण्डविरुद्ध अफवाह

अध्यक्ष प्रचण्डमाथि कुनै अभद्र व्यवहार भएको छैन : सचिवालय

सफल खबर संवाददाता

विहीबार, ०६ मंसिर २०७५, १६ : ३७
अध्यक्ष प्रचण्डमाथि कुनै अभद्र व्यवहार भएको छैन : सचिवालय

चितवन l नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भएपनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन ।

आज बिहीबार बिहान भरतपुर महानगरपालिका वडा नं. २३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हाल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाईबुझाई पठाएको उहाँले बताउनु भयो । यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रकाशित गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित रुपमा प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा उहाँले आग्रह समेत गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ । दुई दिनका विभिन्न कार्यक्रममा सहभागी भएर प्रचण्ड बिहीबार नै काठमाडौँ फर्किसक्नु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीले त्यस्तो हल्ला चलेपछि आफूलाई पनि पटकपटक फोन आएको तर आफू कार्यक्रममा नै खटिएको तर केही नभएको बताउनु भयो । उहाँले राम्रोसँग कार्यक्रम सम्पन्न भएको बताउनु भयो ।

कृष्णचोकको कार्यक्रममा प्रचण्डलाई खुकुरी प्रहार गर्न खोजियो भनेर केही अनलाइन मिडियाहमा अफवाह फैलिएको छ । मिर्मिरे अनलाइनमा पहिलोपटक यो अफवाह फैलिएपछि अन्य केही अनलाइनले मिर्मिरे अनलाइनलाई साभार गर्दै भ्रमपूर्ण खबर पोष्ट गरेका छन् ।

पहिलो नेपाली खबर डट कमले त अस्पतालमा सुतेका कुनै अर्कै बिरामीको फोटोमा प्रचण्डको टाउको जोडेर पोष्ट गरेको छ । यसरी जोडिएको प्रचण्डको फोटो उहाँले भाषण गर्दै गरेको कुनै एक तस्बिरबाट काटिएको हो । तस्बिरमा प्रचण्डको चिउँडोमा माइकको डल्लो भाग प्रष्ट देखिन्छ । पहिलो नेपाली खबरले दुई वटा शीर्षकमा एउटै समाचार दुई पटक पोष्ट गरेको छ ।

कृष्णचोक बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कुँवर र स्थानीय देवीलाल गौतमले त्यस्तो हल्ला निराधार भएको बताउनु भयो । कार्यक्रम स्थल कृष्णचोकका देवीलाल गौतम र दुर्गाबहादुर कुँवरले बताएअनुसार माओवादीका कार्यकर्ता रामबहादुर रिमालले प्रचण्डलाई भेट्न खोजेपछि सुरक्षाकर्मीले उनलाई रोकेका थिए । केही मात्रामा मदिरा पिएका रिमाल कार्यक्रमस्थलबाट सय मिटर पर थिए । उनको साथमा कुनै हतियार नभएको र मदिराको नसाले गर्दा उनी राम्रोसँग खुट्टा टेक्नसमेत नसक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस