दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, ११ : १५
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् । शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।  उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् ।

‘बच्चाको अवस्था सामान्य छ,’ उनले भने, ‘बाँकी अनुसन्धानबाट खुल्ला।’  यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् । ‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू भागेका हुन्,’ ती महिलाको भनाइ उदृत गर्दै स्थानीयले भने ।

साथै ती महिलाले खर, परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् । गएराति ९ बजेतिर सबै घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर गरे । त्यसपछि बमबहादुरका श्रीमान्–श्रीमती छोरा, छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गए ।

‘उनीहरू घरमा आएर हेर्दा छोरी छैन,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी कार्य गर्दा कतै भेटिएन । हामीले पराल,खरमा आगो लगाएर हामीलाई उता भुलाएर कोही व्यक्तिले लगेर भागेको शङ्का लाग्यो ।’ त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस