चट्याङ लागेर दुई महिला गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, ०७ : १४
चट्याङ लागेर दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् । 

 छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस भएको  आफन्तले बताएका छन् । 

स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ ।

देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए ।  चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्‍याएको प्रवक्ता बस्नेतले बताए । 

प्रतिक्रिया दिनुहोस