हात उठाएर शिक्षकले गरे सरकारको विरोध

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १५ : ०६
हात उठाएर शिक्षकले गरे सरकारको विरोध

काठमाडौँ। शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

बानेश्वर-बबरमहल सडक-खण्डमा भेला भएका शिक्षक-कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

मंगलबार (हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरूको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस