तीनकुने घटना समग्रमा आततायी र आपराधिक देखिन्छ : देव गुरुङ

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १२ : २५
तीनकुने घटना समग्रमा आततायी र आपराधिक देखिन्छ : देव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक गतिविधि आततायी र आपराधिक घटना शृङ्खलाको रूपमा चित्रण गरेका छन् । गुरुङले तीनकुने घटना समग्रमा हेर्दा अराजक, तोडफोड, आगजनी, हिंसात्मक, लुटपाट र मानिसलाई थुनेर आगो लगाउने जस्ता कार्य गरिएकाले आततायी भएको चित्रण गरेका हुन् ।

सभामा आयोजकबाट सुरुदेखि नै उद्दण्ड र उत्तेजक प्रस्तुति भइरहेको भए पनि सरकारी पक्षबाट शान्ति सुरक्षाका लागि आवश्यक तयारी नभएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लगाएका छन् ।

‘कार्यक्रम आयोजकहरूबाट सुरु देखि नै उद्दण्ड र उत्तेजक प्रस्तुति त भइरहेकै थियो। तर सरकारी पक्षबाट शान्ति सुरक्षाको लागि आवश्यक तयारी भएको देखिएन। सरकारी पक्षबाट तयारी नभएको मात्र होइन सरकार एक हदसम्म बेवास्ता, लापरबाही र गैरजिम्मेवार समेत भएको देखिन्छ । कतिपय सन्दर्भलाई हेर्दा सरकार पक्षबाट पनि उत्तेजक घटनाहरू भएनन् भनेर भन्न सक्ने अवस्था देखिएन। जसले गर्दा २ जनाको हताहत सहित ठुलो धन जनको क्षति भएको छ’, उनले भने ।

मुलुकमा अराजकता र द्वन्द्वकाे परिस्थिति सृजना गरेर सङ्कट काल निम्त्याउने र सैन्य परिचालनको परिस्थिति सृजना गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने, सङ्कट व्यवस्थापनको नाममा विदेशी सेना निम्त्याउने, मुलुकको सार्वभौम सुरक्षा र परराष्ट्रनीति विदेशीको हातमा सुम्पिने र नेपाललाई साम्राज्यवादी शक्ति केन्द्रहरुको सामरिक सैन्य अखडा बनाउने दिशामा सबै गतिविधिहरू प्रायोजित रूपमा भइरहेको गुरुङले लेखेका छन् । त्यसको लागि ती शक्ति केन्द्रका एजेन्सीहरू मार्फत वर्तमान हिंसात्मक घटनाहरू सञ्चालन भइरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस