विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १३ : २७
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी

काठमाडौं । विरोधका बीच राष्ट्रिय सभाको बैठक चलाउने तयारी भएको छ । यसका लागि सत्तापक्षले सभाध्यक्ष नारायण दाहालमाथि दबाब बढाएका छन् ।

विगतमा पनि विरोधका बीच संसद्‍को कामकारबाही अगाडि बढेको भनेर सत्तापक्षले सभाध्यक्षमाथि दाबाब बढाएका हुन् । सभाध्यक्ष दाहालले भने सहमतिमा आउन दलहरूलाई आग्रह गरिरहेका छन् ।

विपक्षी दलहरूले विरोधका बीच सभा अगाडि बढे बहिष्कार गर्ने चेतावनी दिएका छन् । सत्तापक्षले विपक्षीले बहिष्कार गरेता पनि सभा अगाडि बढाउनुपर्ने दबाब दिएका हुन्।

प्रतिस्थान विधेयक पास गर्नुपर्ने समयको दबाब रहेको भन्दै उनीहरूले सभा विरोधकाबीच अगाडि बढाउन समेत आवश्यक रहेको तर्क गरिरहेका छन् ।शुक्रबार विभिन्न ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ । यी विधेयकहरू १९ चैतसम्म पारित भएर पनि राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ ।

सत्तापक्ष आजै ५ वटै विधेयक राष्ट्रिय सभाबाट पारित गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने अडानमा छन् ।विपक्षी दलहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडानमा छन् ।

संसद् सचिवालयका अधिकारीहरूका अनुसार शुक्रबार पहिलो बैठक स्थगित गरेर दोस्रो बैठक चलाउने र त्यसमा विपक्षीहरूले विरोध गरेता पनि सभा चलाउनेबारे छलफल भएको छ ।माओवादी केन्द्रकी सांसद रेणु चन्द विपक्षीको विरोधका बीच सभा अगाडि बढे आफूहरूले सभा नै बहिष्कार गर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘विपक्षी विना नै संसद् चलाएर अगाडि बढ्ने कुराको नजिर राख्ने हो भने त्यो अर्कै कुरा हो । नत्र प्रधनमन्त्रीले जवाफ दिएर वातावरण सहज बनाउनु नै उचित विकल्प हो ।’

प्रतिक्रिया दिनुहोस