सरकारले सुकुमबासी बस्तीमा खानेपानी उपलब्ध गराउनुपर्छ : प्रभु साह

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १४ : ३९
सरकारले सुकुमबासी बस्तीमा खानेपानी उपलब्ध गराउनुपर्छ : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुमबासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा पुगेका साहले सुकुमबासी बस्तीमा खानेपानी नदिएर सरकार अमानवीय कार्य गरेको बताउँदै खानेपानीको व्यवस्था गर्न माग गरेका हुन् ।

सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सीमित नेताहरूले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रूपमा बुझेको बताउँदै उनले काठमाडौँको विभिन्न ठाउँमा रहेका सुकुमबासी बस्तीहरूको समस्या समाधान गर्नुपर्ने जोड दिए ।

नेताहरूले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौँको सुकुमबासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौँका सुकुमबासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।

अहिलेको  दलतन्त्रका कारण सुकुमबासीको समस्या समाधान हुन नसकेको बताउँदै उनले दलतन्त्रको अन्त्य र सुकुमबासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन उनले आग्रह गरे ।