मोदीको भ्रमणले भारत-मोरिसस सम्बन्धमा नयाँ उचाइ थपिएको दाबी

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १६ : ५४
मोदीको भ्रमणले भारत-मोरिसस सम्बन्धमा नयाँ उचाइ थपिएको दाबी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोरिसस भ्रमणले दुई देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा सुदृढ बनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक साताअघि प्रधानमन्त्री मोदीले मोरिसस भ्रमण गरेका थिए । प्रधानमन्त्री कार्यालयको सचिवालयले  मोदी र मोरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले दुई देशबीच उच्च विश्वास र आपसी समझदारी रहेको भन्दै सहकार्यलाई थप उचाइमा पुर्‍याउन प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । 

‘नियमित उच्चस्तरीय भेटघाट र भ्रमणले यस सम्बन्धलाई थप बलियो बनाएको छ, प्रधानमन्त्री कार्यालयले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।मोदीको दुईदिने मोरिसस भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, संस्कृति, रक्षा, अन्तरिक्ष र श्रम क्षेत्रमा महत्त्वपूर्ण सम्झौता भएका छन् । 

चारधाम र रामायण ट्रेलमार्फत् भारत भ्रमणको आदान-प्रदान, स्कूल शिक्षाको पाठ्यक्रम विकासमा सहकार्य, श्रम भर्तीसम्बन्धी समझदारी (एमओयू) र मोरिससमा विज्ञान तथा प्रविधि निर्देशनालय स्थापनाजस्ता सम्झौता उल्लेखनीय छन् । भ्रमणको क्रममा मोदीले रामगुलामलाई भारत भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

राजनीतिक र सांस्कृतिक सहकार्य
दुवै नेताले भारतको जी२० अध्यक्षतामा मोरिससको अतिथि देशका रूपमा सहभागिताले सबै क्षेत्रमा सम्बन्ध गहिरो बनाएको कुरा स्वीकार गरेका छन् । 

उनीहरूले संसदीय अभ्यासमा उत्कृष्ट अनुभव आदान-प्रदान गर्न र सांसदबीच अन्तरक्रियालाई तीव्र बनाउन सहमति जनाएका छन् । 

सांस्कृतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई बलियो बनाउन, महात्मा गान्धी संस्थानलाई भारतीय मजदुरको अभिलेख संरक्षणमा सहयोग, भारतको राष्ट्रिय अभिलेखागारबाट विशेष तालिम, प्रवासी भारतीय दिवस,  छात्रवृत्तिसम्बन्धी विभिन्न अनुसन्धानमा सहकार्य गर्ने निर्णय दुवै नेताले गरेका हुन् । 

साथै, चारधाम, रामायण ट्रेल तथा भारतका प्राचीन धार्मिक स्थलको भ्रमणमार्फत् पर्यटन र सांस्कृतिक आदान-प्रदानलाई पनि प्रोत्साहन गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विकास र समुद्री सुरक्षा
प्रधानमन्त्री मोदीको सचिवालयका अनुसार दुवै नेताले विकास, रक्षा, समुद्री सुरक्षा र जनस्तरको सम्बन्धलाई भारत-मोरिसस साझेदारीको केन्द्रका रूपमा स्वीकार गरेका छन् । 

उनीहरूले यो सम्बन्धलाई रणनीतिक साझेदारीमा उन्नत गर्न मार्गदर्शन र सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । रामगुलामले मोरिससको ५७औं स्वतन्त्रता दिवस र ३३औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिको रूपमा मोदीको उपस्थितिको प्रशंसा गरे । 

भ्रमणका अवसरमा मोदीलाई मोरिससको सर्वोच्च सम्मान ‘ग्रान्ड कमान्डर अफ द अर्डर अफ द स्टार एन्ड की अफ द इन्डियन ओसन’ प्रदान गरियो । भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई मोरिससको सर्वोच्च सम्मान प्रदान गर्दाको साक्षी बन्न पाउँदा गर्व लागेको छ । यो पुरस्कार मोदीको नेतृत्व र समृद्ध भारतीय महासागर क्षेत्रप्रतिको प्रतिबद्धताको प्रमाण हो । साथै, यसले भारत र मोरिससबीचको विशेष मित्रतालाई पनि प्रतिबिम्बित गर्छ ।’

अन्तरिक्ष र जलवायु परिवर्तनमा सहकार्य
रामगुलामले मोरिससका लागि संयुक्त उपग्रह विकासमा भारतको सहयोगको प्रशंसा गरे । दुवै देशले भारत-मोरिसस उपग्रहको सफल विकास र प्रक्षेपणका लागि सहकार्य गर्ने सहमति जनाएका छन् । जसमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले मोरिससका वैज्ञानिकलाई तालिम दिनेछ ।

त्यस्तै, मौसम तथा जलवायु पूर्वानुमान प्रणाली, वेभ राइडर ब्वाइज तथा बहु-खतराको आपतकालीन प्रणाली लागू गर्न पनि भारतले सहयोग गर्नेछ । 

इसरो र मोरिसस अनुसन्धान तथा नवप्रवर्तन परिषद् (एमआरआईसी) बीचको सहकार्य नवीकरण गरी चरम मौसमी घटनाको निगरानीका लागि पृथ्वी अवलोकन एपमा आधारित परियोजना अघि बढाइने सम्झौतामा उल्लेख छ ।

स्वास्थ्य र शिक्षामा सहयोग
दुवै नेताले गुणस्तरीय, किफायती र पहुँचयोग्य स्वास्थ्य सेवामा जोड दिएका छन् । भारतले मोरिससमा पहिलो जनऔषधि केन्द्र स्थापना गरेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री रामगुलामले यस पहललाई थप बिस्तार गर्ने सहमति भएको जनाएका छन् । 

त्यस्तै, सम्झौताअनुसार लागूपदार्थ निवारण तथा पुनर्वासमा विशेषज्ञता आदान-प्रदान गर्न भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले मोरिससलाई सहयोग गर्ने बताइएको छ ।

डिजिटल स्वास्थ्य कार्यालय प्रणाली लागू गर्न तथा मोरिससको स्वास्थ्य सेवालाई पूर्ण रूपमा डिजिटल बनाउन भारतले विशेषज्ञ पठाउनेछ । आयुष सहकार्य अन्तर्गत, मोरिससमा आयुष उत्कृष्टता केन्द्र स्थापनाका लागि भारतको सहयोगको मोरिससका प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

त्यस्तै, भारतको राष्ट्रिय शैक्षिक अनुसन्धान तथा तालिम परिषद् (एनसीईआरटी) र मोरिससको उच्च शिक्षा मन्त्रालयबीच पाठ्यक्रम विकासको सहकार्यलाई थप उचाइमा पुर्‍याउने सहमति पनि दुवै नेताबीच भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

मोदीको भ्रमणले भारत र मोरिससबीचको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइ दिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । दुवै नेताले यो साझेदारीलाई क्षेत्रीय शान्ति, समृद्धि र दिगो विकासका लागि उदाहरणीय बनाउने संकल्प व्यक्त गरेका छन् भने यसले भारतको अन्तर्राष्ट्रिय छविलाई पनि थप मजबुत पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस