श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु

सफल खबर संवाददाता

सोमबार, २६ फागुन २०८१, ११ : ३६
श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् ।

श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।

यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता छ । साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने मन्त्रालयले जनाएको छ ।

नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको सन्दर्भमा आयोजित सम्मेलनले रोजगारी सिर्जना गर्न योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।मन्त्रालयले २०५४ सालमा पहिलोपटक श्रम तथा रोजगार सम्मेलन आयोजना गरेको थियो । आजबाट सुरु पाँचौं सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम मन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र डा. युवराज खतिवडा लगायत सहभागी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस