पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०८१, १३ : ३९
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका–५ पथरी घर भई ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका–५ कमदी घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।

पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।