काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छन् ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री देउवा आज स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिएकी हुन्।
मन्त्री देउवाले गत मंगलबार राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन्। सो सत्रमा राष्ट्र संघका सदस्य राष्ट्रहरूका परराष्ट्र तथा मानव अधिकारसम्बन्धी मन्त्री एवं मानव अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो।
नेपाल फर्किएपछि मन्त्री देउवाले मानव अधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरहेको जानकारी विश्व समुदायलाई गराउँदै सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन्।
संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानव अधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग मन्त्री देउवाले आग्रह गरिन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न आफूले विश्व समुदायलाई आग्रह गरेको र उनीहरूले पनि नेपाललाई सहयोग गर्ने बचन दिएको उनले जानकारी गराइन्।
यस भ्रमणका क्रममा उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानव अधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन्।
त्यसैगरी उनले जेनेभामा रहँदा स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिकोलगायतका मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गरेकी थिइन्।
साथै भ्रमणका क्रममा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभाले आयोजना गरेको स्वागत समारोहमा उपस्थित भएका एक सयभन्दा बढी मुलुकका नियोग प्रमुख तथा प्रतिनिधि एवं संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थाका पदाधिकारीसँग पनि मन्त्री देउवाले नेपाललाई मानव अधिकार परिषद्को सदस्यमा मत दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्।
मन्त्री देउवा ६ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १८ : ४२
लेखकबाट थप