सरकारी वेबसाइट ठप्प: सर्भर समस्याले सेवा अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १३ : ३८
सरकारी वेबसाइट ठप्प: सर्भर समस्याले सेवा अवरुद्ध

काठमाडौँ । सर्भर समस्याका कारण देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प भएका छन्। शुक्रबार बिहानदेखि सञ्चालनमा नरहेका यी वेबसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइटसहित संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ। डीएनएस सर्भरमा आएको खराबीले धेरैजसो वेबसाइट पूर्ण रूपमा बन्द छन् भने केही स्थानीय तहका वेबसाइट कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा छन्। प्रयोगकर्ताले वेबसाइट खोल्दा ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश देखिएको छ।

सर्भरमा बारम्बार देखिने यस्तो समस्या सरकारी संयन्त्रको पुरानो रोग बनेको छ। सार्वजनिक सेवालाई अनलाइन र डिजिटल बनाउने कुरा बारम्बार दोहोरिँदा पनि सामान्य वेबसाइटसमेत सञ्चालन नहुनु विडम्बनापूर्ण छ। लामो समयदेखि सरकारी सर्भरमा पटक–पटक समस्या देखिँदा पनि सम्बन्धित निकायहरू मौन छन्। लगानी वृद्धि र नयाँ संरचना थप्ने काम भए पनि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमै सामान्य वेबसाइट र इन्टरनेट सञ्चालन हुन नसक्नु लज्जास्पद छ। करोडौँ रकम खर्च हुँदा पनि सामान्य वेबसाइट सञ्चालनमा ल्याउन नसक्नुले सम्बन्धित निकाय र अधिकारीहरूको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

 

प्रतिक्रिया दिनुहोस