पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०८१, १० : ११
पोखरामा आजदेखि ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।

‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्‌घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्‌घाटन गर्ने कार्यक्रम छ । संवाद सत्र भने दिउँसो एक बजेदेखि सुरु हुनेछ ।

संवाद सत्र हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी. लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो. उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्‌घाटन समारोहमा अनिल शाही र समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहने छ ।

उद्‌घाटन समारोह पछि दिउँसो १ बजेदेखि अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्ने छन् । यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित संवाद गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस