काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागू गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यमै यो विषय राखेको स्मरण गरे । ‘…बजेट वक्तव्यको ४९ नम्बर बुँदालाई सरकारले यथासक्य चाँडो कार्यान्वयनमा लैजाओस्,’ उनले भने ।
चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सरकारले गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने भनेको छ । तर, यो व्यवस्था कार्यान्वयनमा जान सकेको छैन । अघिल्लो आर्थिक वर्षको बजेटमा समेत यो प्रावधान आएको थियो । त्यसबेला तत्कालीन सरकारले २० कात्तिक २०८० मा गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।
गृह मन्त्रालयका तत्कालीन सहसचिव भीष्मलाल भुसालको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयका सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको थियो । कार्यदललाई गाँजा औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्य अनुसन्धान गर्ने ‘म्यान्डेट’ दिइएको थियो । तर, उक्त कार्यदलले काम गरेन ।
गाँजा खेतीको विषयमा संसदीय समितिहरूले समेत चासो राख्दै आएका छन् । १७ भदौ २०८० मा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीलाई वैध बनाउने विषयमा आवश्यक अध्ययन गर्न सरकारलाई भनेको थियो ।
तथापि, गाँजा खेतीाई वैध बनाउने विषय अगाडि बढ्न सकेको छैन । तर, नागरिकहरूले गाँजा खेतीबारे बजेटमा आएको प्रावधान कहिले लागु हुन्छ भनेर सोधिरहेको माओवादी सांसद सापकोटाले बताए ।
केही समय अगाडि आफू मकवानपुरको पालुङ, आग्रा, राक्सिराङ लगायतका गाउँहरूमा पुगेको स्मरण गर्दै उनले त्यसभेगका नागरिकले गाँजा खेतीबारे बजेटमा आएको प्रावधानको कार्यान्वयनमा चासो राखेको सुनाए ।
‘स्थानीय नागरिकको सरकारलाई प्रश्न छ– गाँजासँग सम्बन्धित बजेट वक्तव्यको ४९ बुँदा कहिले कार्यान्वयन हुन्छ ?’ सापकोटाले भने । मकवानपुरका नागरिकहरूको प्रश्न देशभरीका नागरिकको प्रश्न रहेको उल्लेख गर्दै सांसद सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागू गर्न माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
संविधानको व्याख्यात्मक घोषणामा जनयुद्ध स्वीकार गरिएको छ : माधव सापकोटा
ऊर्जामन्त्री र राज्यमन्त्रीबाट डकैती शैलीमा निर्णयको प्रयास भयो : माधव सापकोटा
उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्यो : माधव सापकोटा
रास्वपाले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोज्यो : माधव सापकोटा
प्राधिकरणका सदस्यलाई हटाएर सरकार निरङ्कुश बन्दैछ : माधव सापकोटा