धवलागिरिमा १३ जलविद्युत आयोजना भित्रिए

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १० : ४१
धवलागिरिमा १३ जलविद्युत आयोजना भित्रिए

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए। विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६ दशमलव २३ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

“भिरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत यहाँ सडक सञ्जाल विस्ता हुनुका साथै यातायात सञ्चालन भई स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको छ”, अध्यक्ष पुनले भने, “दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिन्छ ।”

गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ को १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

धवलागिरि गाउँपालिका–४ खाम्लामा रहने बाँधमार्फत पाँच दशमलव सात सय किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका–७ भारवाङमा बन्ने विद्युत्गृहमा एक सय ९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए। उनका अनुसार विसं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत रु ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ ।

हाइड्रोइम्पाएर प्रालि प्रवर्द्धक रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले धवलागिरि–४ सिम्कोश दोभानको बाँधबाट घिम्लेटी जोड्ने चार किमी लामो सुरुङ निर्माण सुरु गरिएको छ । उक्त आयोजना प्रमुख रमेश सुवेदीले विसं २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिएको जानकारी दिए।  यस आयोजनाको कुल लागत रु छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस