पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०८१, १४ : ११
पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी

काठमाडौं । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बस्ने भएको छ ।पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको अन्तर्यबारे छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले वैठक बोलाएका हुन् ।

पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गरेका थिए । उनको यस्तो आह्वानपछि राप्रपा नेताहरु जुर्मुराएका छन्। वरिष्ठ नेता तथा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै पार्टीको वैठक बोलाउनुपर्ने माग गरेका थिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजाको सन्देश तथा अन्य समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताए ।

उनले भने, ‘पूर्वराजाले शुभकामना सन्देशमा जुन भाव व्यक्त गर्नुभएको छ, त्यसमा राप्रपाको पूर्ण समर्थन छ । अब यसमा पार्टीले बनाउने रणनीतिका विषयमा वैठकमा छलफल हुन्छ ।’राप्रपाभित्रकै ‘हार्डलाइनर’ राजावादीहरु भने बढी नै हौसिएको देखिन्छ । महामन्त्री डा. धवलशम्शेर राणाले सामाजिक सञ्जालमा स्टास लेख्दै पूर्वराजाले गरेको आह्वानको स्वागत र समर्थनमा जिल्ला–जिल्लामा दीप प्रज्ववल गर्न आह्वान गरेका छन् ।

उनी लेख्छन्, ‘राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धी र उन्नतिका लागि राजा ज्ञानेन्द्रबाट सबै नेपालीलाई साथ दिन भएको आह्वानको स्वागत र समर्थनमा जिल्ला जिल्लामा दिप प्रज्वलन गर्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई आग्रह गर्दछु ।’

हिजो पनि उनले आफ्नो तर्फबाट एक विज्ञप्ति निकाल्दै पूर्वराजाको अभिव्यक्तिको स्वागत गरेका थिए । यस्तै, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि पूर्वराजाको वक्तव्य लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी पंतिलाई तयारी अवस्थामा रहन अनुरोध गरेका थिए ।

राप्रपा संस्थापन पक्ष भने त्यति धेरै उत्ताउलिएको छैन । अध्यक्ष राजेन्द्र लिङदेनले राजाको आह्वानबाट समान विचार भएका व्यक्ति र दलहरसँग सहकार्यको बाटो थप खुलेको प्रतिक्रिया दिएका छन् ।संस्थापन पक्षका एक नेताले महामन्त्री राणाले आफूखुशी जारी गरेका वक्तव्यहरुलाई ‘सांगठनिक अराजकता’ को संज्ञा दिए ।

‘पार्टी अध्यक्षबाट धारणा आइसकेको छ । सबैले वक्तव्य दिइराख्नु पर्दैन’, उनले भने, ‘अहिले दीप प्रज्ववलन गरेर खुशीयाली मनाउनुपर्ने केही छैन ।’