नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो । उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौँ लाख हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्दछ ।
फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले संघर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।“अस्पतालमा १५ जनाको मृत्यु भएको म पुष्टि गर्न सक्छु। तिनीहरूलाई कुनै पनि देखिने चोट छैन । हाइपोक्सिया वा कुनै चोटका कारण मृत्यु भएको हुन सक्छ तर शव परीक्षणपछि मात्र यसको पुष्टि हुनेछ,” नयाँ दिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा। रितु सक्सेनाले बताए ।
’घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर छ र हाडजोर्नीमा चोट लागेको छ,” उनले भने । शहरको अर्को अस्पतालका एक अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले भागदौडमा परी थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
“म सन् १९८१ देखि कुल्लीको काम गर्दै आएको छु, तर मैले यसअघि यस्तो भीड कहिल्यै देखेको थिइनँ,” रेलवे स्टेसनका एक पोर्टरलाई उद्धृत गर्दै ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ ।
प्रयागराजका लागि छुटेको विशेष रेलको प्लेटफर्म एकाएक सारिएपछि मानिसहरू आपसमा ठोक्किन थाले र एस्केलेटर र सिँढीमा खसेका थिए।रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारणबारे उच्चस्तरीय छानबिनको आदेश दिइएको बताएका छन् । वैष्णवका अनुसार भक्तजनको भीड हटाउन नयाँ दिल्लीबाट थप विशेष रेल सञ्चालन भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडबाट आफू मर्माहत भएको बताएका थिए । “शोकको यस घडीमा म आफ्ना प्रियजनहरू गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” उनले लेखेका छन् ।
राजधानी क्षेत्र दिल्लीका गभर्नर विनयकुमार सक्सेनाले विपद् व्यवस्थापनका कर्मचारीलाई तैनाथ गर्न भनिएको र सबै अस्पतालहरू सम्बन्धित आपत्कालीन अवस्थालाई सम्बोधन गर्न तयार रहेको बताएका छन् ।
छ हप्तासम्म चल्ने महाकुम्भ मेला हिन्दू धार्मिक क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्णमध्येको पर्व हो । अधिकारीहरूले गत महिना देखि नै करिब ५० करोड भक्तजनले यस पर्वको अवलोकन गरिसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ फागुन २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौड, चारजनाको मृत्यु
उत्तर प्रदेशको हाथरसमा सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु