काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।
प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।
यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसै गरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे ।
‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्त्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’
विसं. २०७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘होली’ हर्ष र उमङ्गको पर्व : प्रधानमन्त्री ओली
जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी
स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : प्रधानमन्त्री ओली
क्यानडाको नयाँ प्रधानमन्त्री हुन लागेका मार्क कार्नी को हुन् ?
सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी आउँदै