काठमाडौं। काठमाडौंको दक्षिणकालीमा बन्ने चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । निर्वाचित जनप्रतिनिधि, स्थानीय बासिन्दा, सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा उनीहरूले परियोजनालाई छिटो अघि बढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा संघीय सांसद राजनकुमार केसी, प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँ, विभिन्न समितिका प्रतिनिधिहरू तथा स्थानीय व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला र स्थानीयहरूको उपस्थिति थियो।
स्थानीय प्रतिनिधिहरूले यो परियोजना कीर्तिपुर र वरपरका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।
केबलकार सञ्चालनमा आएपछि नगर र राष्ट्रले कर प्राप्त गर्ने, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, पर्यटनको प्रवर्द्धन हुने र कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत गर्ने उनीहरूको भनाइ छ।
स्थानीय युवाहरूले रोजगारीको प्राथमिकता पाउनुपर्ने, स्थानीय लगानीकर्ताहरूलाई शेयरको पहुँच सुनिश्चित गर्नुपर्ने, पर्यटन प्याकेजहरू विकास गर्नुपर्ने र स्थानीय व्यवसायलाई समृद्ध बनाउन केबलकारले सघाउने कुरामा जोड दिए।
सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणको क्रममा भौगोलिक संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने भन्दै पहिरो रोकथाम, मलबा व्यवस्थापन र फोहोर व्यवस्थापनजस्ता विषयलाई गम्भीर रूपमा समेट्नुपर्ने बताए।वन तथा वातावरण संरक्षणका उपायहरू अवलम्बन गर्दै परियोजनालाई अगाडि बढाउनुपर्ने उनीहरूको सुझाव थियो । स्थानीयले मलबा व्यवस्थापन योजनामा स्पष्टता ल्याउनुपर्ने, पर्यटनलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्ने खालका वातावरणमैत्री नीति अपनाउनुपर्ने र स्थानीय समुदायलाई परियोजनामा प्रत्यक्ष संलग्न गराउनु पर्ने उनीहरूको माग छ ।
चम्पादेवी केबलकारको बटम स्टेसन काठमाडौंको दक्षिणकाली नगरपालिका- १ मा रहनेछ भने टप स्टेसन कीर्तिपुर नगरपालिका- ४ मा रहनेछ ।
२.१ किलोमिटर लम्बाइ रहने केबलकारको टावरहरूको संख्या १२, गण्डोलाहरूको संख्या ३४+३ रहने छ ।
१४४० व्यक्ति प्रति घण्टा क्षमता रहने केबलकारको यात्रा समय (एकतर्फी) ७ मिनेट रहनेछ ।
१८ महिनाको निर्माण अवधि रहेको केबलकार निर्माण चरणमा ३०० र सञ्चालन चरणमा २०० जना लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १६ : ०८
लेखकबाट थप