गत पच्चीस वर्षमा समुद्रहरूले सोसेको ताप पहिले सोचिए भन्दा धेरै परिमाणमा भएको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
नयाँ अध्ययनले पहिले आकलन गरिएको भन्दा ६० प्रतिशत धेरै ताप समुद्रहरूले सोसेको पाइएको देखाएको छ ।
नयाँ निष्कर्ष अनुसार पृथ्वी इन्धन उत्सर्जनको परिणामप्रति धेरै नै सम्वेदनशील रहेको देखिन्छ ।
यसले यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धिलाई सुरक्षित स्तरमा राखिराख्न निकै कठिन बनाइदिने देखिन्छ ।
तापमान वृद्धि
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानेलको पछिल्लो वृहत् परीक्षण बमोजिम हरितगृह ग्यासका कारण संकलित अतिरिक्त तापको ९० प्रतिशत विश्वका समुद्रहरूले सोसेको देखिएको छ ।
यो नयाँ हिसाबले के देखाएको छ भने समुद्रहरूले पहिले सोचिएभन्दा निकै धेरै परिमाणमा ताप सोसेका छन् ।
यसले मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्यासहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएको देखाएको छ ।
सो अध्ययनमा सामेल अनुसन्धानकर्ताहरू भन्छन् यी नयाँ तथ्यले प्यारिस सम्झौतामा सरकारहरूले तापमान वृद्धि सम्बन्धी राखेका लक्ष्य भेट्टाउन झन् कठिन हुने देखिन्छ ।
के हुन्छ परिणाम?
बढी ताप भएको समुद्रमा अक्सिजनको मात्रा कम हुन्छ, जलचर प्रभावित हुन्छन् र सामुद्रिक सतह माथि आउने जोखिम बढ्छ ।
यस शताब्दीमा तापमान वृद्धिलाई डेढ वा अझ २ डिग्री सेल्सियसभित्रै कायम राख्न थप कठिन बनाउने त छँदैछ, समुद्रहरूमा मिसिएको अतिरिक्त तापले त्यहाँको पानीमा पनि व्यापक परिवर्तन ल्याउनेछ ।
संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स र जर्मनीका अनुसन्धानकर्ताहरूको सो अध्ययनले पृथ्वीको तापमान बढाउने हानिकारक तत्वहरूको उत्सर्जनमा पहिले लक्ष्य गरिएभन्दा थप २५ प्रतिशतले कमी ल्याउन पर्ने निष्कर्ष निकालेको छ ।
बढी ताप भएको समुद्रमा कम अक्सिजन हुन्छ जसले सामुद्रिक पर्यावरणमा सोझो असर पर्छ । त्यसले समुद्र सतह माथि आउने जोखिम पनि बढाउँछ । -बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ कार्तिक २०७५, ०९ : ४५
लेखकबाट थप