च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०८१, ११ : २३
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका(९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूूर्ण सुनदासले राससलाई बताए । उनले भने,“बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।”

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताएका छन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनि दुःखी छन् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ ।

ललितपुर महानगरपालिका(९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिएका छन् । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस