पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा हुने

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०८१, १५ : १०
पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ भरतपुरमा हुने

चितवन । नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ चितवनको भरतपुरमा हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

एक्स्पोले दुग्ध क्षेत्रको वृहत विकासकालागि साझा मञ्च प्रदान गर्ने र नया प्रविधि र नवप्रवर्तन र बजार विस्तार र ब्राण्ड प्रवद्र्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सघका अध्यक्ष किशोर बगालले बताए ।

एक्सपोले डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीका नविनतम प्रविधि तथा अभ्यासहरु लाई प्रोत्साहित गर्ने उनले बताए । किसान उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यवसायिक सञ्जालको अबसर सिर्जना गर्नु उपभोक्ताहरुलाई डेरी उत्पादनको महत्व फाईदा तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको उहाले बताए ।

पत्रकार सम्मेलनमा चितवन उद्योग सघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले नेपालको डेरी उद्योगलाई अन्तराष्ट्रिय बजारीकरण गर्नुका साथै नवप्रबिधि बारे जानकारी दिन पहिलो पटक राष्ट्रिय डेरी एक्स्पोको आयोजना गरीएको बताए ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सहआयोजनामा हुन लागेको हो । यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करीब ५० वटा डेरीका परिकारदेखि नयाँ प्रबिधि र उद्योगका स्टलहरु रहने छन् । एक्स्पो करीब ५० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दुध उत्पादन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस