पाटन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् । ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजना आज मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा. यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताए ।
“ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ”, डा यादवले भने, “विसं २०४६ र विसं २०६२र६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।
डा यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले भने, “स्वस्थ्य समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन, त्यसकारण सबै वडामा योग साधनको विस्तार होस् ।
वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जली योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
उनले तीन वर्षको अवधिमा विकास निर्माणका साथसाथै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा धेरै कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै विभिन्न सङ्घसंस्थासँग मिलेर समाज र समुदायको हितमा कार्यक्रम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १० : ५८
लेखकबाट थप