रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी

सहकारी ठगी प्रकरण

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०८१, १० : ४४
रवि लामिछानेविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं। रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज शुक्रबार मुद्दा दर्ता गर्ने तयारी छ ।

कुनै अप्रत्यासित घटनाक्रम नभए जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले शुक्रबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा अभियोजन गर्ने जनाएको छ ।जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार यसअघि नै अभियोजन भइसकेका गितेन्द्रबाबु राई (जीबी राई) लगायतको मुद्दामा बिगो बढाएको छ । रुपन्देही अदालतमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा बिहीबार जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो ।

 

 

 

 

यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ ।उनीहरूविरुद्ध २ करोड ७ लाख रूपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । 

 

 

यसअघि १ अर्ब ३ करोड बिगोसहित उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएको थियो । सञ्चालक समिति सदस्यसमेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोडभन्दा बढी बिगो कायम गरिएको छ । 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशी बञ्जाडेविरुद्ध  शुक्रबार पूरक अभियोजन गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

सुप्रिमबाट रविकै नाममा २ करोड रूपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । रविले नक्कली ऋणी खडा गरेर ऋण लिएका थिए । सरकारी वकिल कार्यालय रुपन्देहीमा भने रविले इन्कारी बयान दिएका थिए ।

सरकारी वकिल कार्यालयले पहिलो चरणमा २८ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ । सुप्रिममा १ हजार ८३१ बचतकर्ताको १ अर्ब ३१ करोड रूपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको अनुसन्धानको निष्कर्ष छ ।

२०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी जीबी राईले २०७२ फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए । सुप्रिम ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसहित ६ जना यसअघि नै धरौटीमा छुटेका थिए ।प्रतिवादीहरूमध्ये अधिकांश अहिले पनि फरार छन् । 

सुप्रिमको सञ्चालक समितिका अध्यक्ष जीबी राई, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अली सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी र कविता तामाङ अझै फरार छन् ।

प्रतिवादीमध्ये रविलाई उनको नाममा गएको २ करोड र गोर्खा मिडियामा गएको रकममध्ये सामूहिकतर्फ २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार बिगो मागदाबी गर्ने तयारी छ ।

त्यस्तै, जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गर्ने तयारी छ ।रुपन्देहीमा अभियोजन भएपछि रवि अदालतमा आफैं उपस्थित नभए प्रहरीले पक्राउ गरेर लैजाने छ । तर, रवि अदालतमा आफैं उपस्थित हुने तयारीमा छन् । 

बुधबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यसअघि कास्की जिल्ला अदालतले ६५ करोड धरौटी मागी छाडेको थियो । कास्क‍ीबाट छुट्दा रविले काठमाडौं अदालतमा आफैं उपस्थित हुने भनेर कागज गरेका थिए । सहकारी ठगी प्रकरणमा रविविरुद्ध चितवन र पर्सामा पनि मुद्दा दर्ताको तयारी छ । 

प्रतिक्रिया दिनुहोस