भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज

सफल खबर संवाददाता

सोमबार, २९ पुस २०८१, ११ : ४७
भाँचिएको पुलमा दुईतर्फी डाइभर्सन, यात्रा सहज

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएपछि नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिएपछि पुल नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएको हो ।

पुस २६ गते साँझ साढे ५ बजेतिर पुल भाँचिएर यात्रा लामो भएपनि दुईतर्फी डाइभर्सन बनेपछि यात्राको अवधि छोटिएको छ । पहिले पुल छेउँबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक–डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।

पहिले पुल छेउँमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको छेउ–छेउ हुँदै घुमाउरो यात्रा गर्नुपर्दथ्यो । ‘पुल छेउँबाटै गाडी गुड्न थालेपछि अब यात्रा पहिलेको जस्तै भयो,’ पोखरेलले भने ।

एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक पुलबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । उक्त भारतीय ट्रकले हेभी जेनेरेटर मेसिन बोकेको थियो ।

प्रतिक्रिया दिनुहोस