काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस-एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् ।शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने प्रष्ट्याएका हुन् ।
एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएको भन्दै कांग्रेसका केही नेताले टिप्पणी गरिरहेका बेला एमाले उपमहासचिवसमेत रहेका गुरुङले यसो भनेका हुन् ।
संविधान संशोधनका लागि पूरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेतमात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनले बताए ।प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने धारणा राखे ।
संविधान संशोधनलाई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने उनको भनाइ छ । सदनमा होल्डमा रहेका विधेयकहरूलाई समेत अन्य दलसँग छलफल गरेर छिटोभन्दा छिटो अघि बढाइने गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : १८
लेखकबाट थप