अदालतको आदेशलगत्तै १० लाख बुझाएर लेखा समिति सभापतिकी श्रीमती कोइराला रिहा

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, १८ : २४
अदालतको आदेशलगत्तै १० लाख बुझाएर लेखा समिति सभापतिकी श्रीमती कोइराला रिहा

काठमाडौँ । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले प्रशासनलाई जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।

सो प्रकरणमा धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस