काठमाडौं । बाध्यात्मक देह व्यापारमा संलग्न एक युवती (यौनकर्मी)लाई चक्कु प्रहार गरी फरार युवक साढे दुई महिनापछि पक्राउ परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका- ५ का २२ वर्षीय युवक रविन बस्नेत पक्राउ परेका हुन् । उनले २२ वर्षीया युवती लक्ष्मी नकर्मी (नाम परिवर्तन)माथि कात्तिक ८ गते काँडाघारीमा छुरा प्रहार गरेका थिए ।
रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रलाई आधार मानेर देह व्यापारमा संलग्न नकर्मीसँग शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछि वादविवाद हुँदा छुरा प्रहार भएको थियो । यौनजन्य क्रियाकलाप तथा मनोरञ्जन व्यवसायमा संलग्न युवतीका तर्फबाट प्रशासनिक तथा कानूनी सहायतामा सहजीकरण गर्ने संस्था श्रमिक महिला रक्षा संघको पहलमा बस्नेत पक्राउ परेका हुन् ।
उनी अहिले प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेको उक्त संस्थाकी प्रतिनिधि सोनिया तामाङले बताइन् । बस्नेत पहिला सार्वजनिक यातायातको सहचालक र अहिले एक सिमेन्ट डिपोमा भरियाको काम गर्छन् । पीडित युवती कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बस्छिन् ।
युवतीसँग रहेको बस्नेतको मोबाइल नम्बरका आधारमा छानबिन शुरु भएपछि उनी भागेर दोलखा गएका थिए । उनले लक्ष्मीलाई पहिलो चोटि कात्तिक ७ गते काँडाघारीस्थित आँखा अस्पताल पछाडिको फोहोर फाल्ने ठाउँमा रहेको झाडीमा लगेर शारीरिक सम्पर्क गरेका थिए । रत्नपार्कबाट रुटको गाडी चढेर उनीहरु त्यहाँ पुगेका थिए ।
पहिलो दिन एक हजार रुपैयाँ दिए । भोलिपल्ट फेरि रविनले युवतीलाई त्यही बोलाए । युवती गइन्, तर शारीरिक सम्पर्कपछि शरीरका विभिन्न अंगमा छुरा प्रहार गरेर भागे । लक्ष्मीलाई रगताम्य देखेपछि स्थानीयले उपचारका निम्ति वीर अस्पताल पुर्याएका थिए ।
पक्राउ परेका बस्नेतका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको छ । जाहेरीको अध्ययन भइरहेको कारण कुन मुद्दा चलाउने भन्ने कुरा अध्ययनपछि मात्रै यकिन गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागुऔषधसहित ६ जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
कल सेन्टरको आवरणमा लटरी र सट्टेबाजी : दुई भारतीय र ५ नेपालीविरुद्ध मुद्दा
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ