काठमाडौँ । ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाई रहेको भन्ने विशेष सूचना पाएको थियो । सोही सूचनाको आधारमा सीआईबीको टोलीले सुरेन्द्र गोपाल श्रेष्ठको घरमा भाडामा लिएर सञ्चालित कल सेन्टरमा छापा मारेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका मनिष कुमार झा रहेका छन् । उनी टिम लिडर रहेका थिए । त्यस्तै ट्रेनिङ म्यानेजर रहेका भारतको गुजरात भएका राहुल मेगोडा पनि पक्राउ परेका छन् ।
यसैगरी एचआर म्यानेजर रहेकी ओखलढुंगाकी मोनी दाहाल, इन्चार्ज रहेकी सिन्धुपाल्चोक घर भएकी सुस्मिता नेपाली, म्यानेजर रहेका झापा घर भएका रोशन बस्नेत, काठमाडौँ घर भएका आईटी सपोर्ट आदित्य कुमार सिंह र काभ्रेपलाञ्चोक घर भएका सलिन श्रेष्ठ लगायत छन् ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट सिंगम लोटरी, एना लटरी, भाउ लटरी, र इन्डसबेट लटरीलगायत अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । उनीहरूले ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ सट्टाबाजी गर्ने गरेको खुल्न आएको बोगटीको भनाई छ।
पक्राउ गरिएका भारतीय नागरिकहरू, केही समय अगाडी विभिन्न देशहरूमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको र यसै समूहले हाल विभिन्न सात देशहरूमा समेत अवैध सट्टेबाजी क्रियाकलाप सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
उनीहरूले नेपालमा भने विगत ९ महिनादेखि प्रोलिंक टेक सलुसन्स प्रालि नामक कम्पनी दर्ता समेत गरी कल सेन्टर खोली अवैध अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको बोगटीले बताए । प्रहरीले छापा मारेर ९६ थान मोबाइल र ८५ थान ल्यापटप पनि बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात् घटनामा संलग्न २ विदेशी र ५ नेपाली नागरिक गरी मुख्य ७ जना उपर ‘मुलुकी अपराध संहिता, २०७४(संशोधन सहित) परिच्छेद ५ दफा १२५ (४)‘सट्टाबाजी गर्न नहुने’ सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र बाँकी ४६ जना उपर थप अनुसन्धान कार्य भइरहेको छ।
प्रहरीले यस्तै प्रकारको अवैध कारोबार विभिन्न स्थानहरूमा पनि सञ्चालन हुन सक्ने भएकोले यस्ता गतिविधिमा आफू संलग्न नहुन र आफ्ना छरछिमेकमा यस्ता अवैध गतिविधि भएमा नेपाल प्रहरीलाई जानकारी गराउन हुन अनुरोध गरेको छ । कुनै पनि रूपमा यस्ता गतिविधिमा संलग्न नहुन पनि प्रहरीको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
यौनकर्मी युवतीलाई चक्कु हान्ने युवक पक्राउ
लागुऔषधसहित ६ जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ