विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २३ पुस २०८१, १६ : ०९
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ

नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा पुगेका एक व्यक्ति आफूले लगाएको चस्माकै कारण पक्राउ परेका छन् । सोमबार मन्दिर परिसरबाट ती व्यक्तिलाई पक्राउ गरिएको जनाइए पनि उनको परिचय खुलाइएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले विशेष प्रकारको चस्मा लगाएका थिए । उक्त चस्मा ‘हाइटेक’ रहेको बताइएको छ । राम मन्दिरभित्र क्यामेरा तथा मोबाइल लैजान निषेध गरिएको छ । तर, ती व्यक्तिले क्यामेरा भएको चस्मा लगाएर मन्दिरमा पुगेको बताइएको छ ।

चस्मामा भएको क्यामेराबाट फोटो खिचिरहेको समयमा एक सुरक्षाकर्मीले ती व्यक्तिलाई फेला पारेका थिए । तत्कालै नियन्त्रणमा लिएर उनीसँग सोधपुछ भइरहेको बताइएको छ ।

सुरक्षा चेक प्वाइन्टमा बसेका सुरक्षाकर्मीले सुरुमा ती व्यक्तिको साथमा क्यामेरा रहेको चस्मा छ भन्ने सुइँको समेत पाउन सकेका थिएनन् । मन्दिरभित्र पुगेर तस्बिर लिनका लागि अलमल गरेको अवस्थामा सुरक्षाकर्मीले ध्यान दिएपछि मात्र उनीसँग क्यामेरा जडित चस्मा रहेको तथ्य प्रकाशमा आएको थियो ।