जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तराई मधेशलाई उपेक्षा गरेर समृद्ध नेपालको परिकल्पना नै असम्भव हुने बताएका छन्। धनुषाको जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनसंख्याको ठूलो हिस्सा ओगट्ने तराई मधेशलाई ठूला भनिने दलहरूले भोट बटुल्ने माध्यम मात्र बनाएको तर तराई मधेशको विकास, निर्माण र महत्त्वपूर्ण आयोजनाहरूलाई प्राथमिकता नदिने गरेको आरोप लगाएका छन् ।
२०८१ साललाई पार्टी प्रवेश वर्षको रूपमा अभियान चलाउने निर्णय गरेको राप्रपामा पार्टी प्रवेश गर्ने, गराउने क्रम जारी छ । राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनाको एजेन्डा बोकेको राप्रपा राष्ट्रिय राजनीतिमा अलग धारको प्रतिनिधित्व गर्दै आइरहेको छ।
हिन्दूत्व र सनातन धर्मको मूल एजेन्डा अघि सारेको राप्रपाले पछिल्लो समय देशव्यापी संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यही अभियानका क्रममा धनुषामा युवा नेता रीतेश सिंह सहित थुप्रै नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं जनकपुर आइपुगेर रीतेश सिंहलाई पार्टीमा स्वागत गरे। विगत एक दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा लागेका र मधेसमा चिर परिचित व्यक्तित्व सिंहको पार्टी प्रवेशले राप्रपाको धनुषा संगठनलाई थप बलियो बनाउने छ।
हिन्दुत्व र सनातन धर्मको रक्षा गर्न अब राप्रपाले थप सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ।नवप्रवेसी नेता रीतेश सिंहले हिन्दूत्वमाथि भइरहेका आक्रमणको प्रतिवाद गर्नु र सनातन धर्मको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए।
उनले आफ्नो राजनीतिक यात्रालाई हिन्दू धर्म र संस्कृतिको प्रवर्धन तथा राष्ट्रिय एकता एवम् अखण्डता तर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। आफू राप्रपामा प्रवेश गर्नु यसै दिशामा गरिएको ठोस कदम भएको उनको भनाइ छ।
पछिल्लो समय हिन्दूत्वको मुद्दाले देशभर प्राथमिकता पाइरहेको छ। धार्मिक सहिष्णुता र सनातन परम्पराको रक्षा गर्न पार्टीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सिंहले आफूले राप्रपाको झण्डामुनि हिन्दू धर्मको प्रवर्धनमा काम गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्ने लिङ्देनको चेतावनी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई
राजेन्द्र लिङ्देनलाई उचालेर कमल थापाको चलाखी !